बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं ३ घोडेधारमा शनिबार बिहान से १ ज ६०३ नम्बरको जिप दुर्घटना हुँदा दोगडाकेदार गाउँपालिका ८ कटौंजपानीका ३५ वर्षीय अम्मर बिष्टको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
कटौजपानीबाट सिल्लेगडातर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा अन्य ५ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने अन्य तीन जनाको अवस्था मध्यम रहेको छ ।
गम्भीर घाइते हुनेमा दोगडाकेदार गाउँपालिका ८ कटौंजपानीकी ३० वर्षीया कलावती बिष्ट र ४५ वर्षीया हिरा बिष्ट रहेका छन् । उनीहरूको दुवैको टाउको र छातीमा चोट रहेको छ ।
यस्तै दुर्घटनामा परी दोगडाकेदार ८ कटौंजपानीकै ६० वर्षीय पदम बिष्ट, ७ वर्षीया सुशीला बिष्ट र ४ वर्षीय रियाज बिष्ट पनि घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल बैतडीमा पठाइएको छ ।
जिप चालक दोगडाकेदार गाउँपालिका ८ कटौंजपानीका सुरेन्द्र बिष्ट फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।