पूर्वप्रधानमन्त्रीहरुको क्लबले गरेको निर्णय पार्टीको निर्णय हुदैन : महामन्त्री थापा



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वप्रधानमन्त्रीहरुको क्लबले गरेको निर्णय पार्टीको निर्णय नहुने टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले मंगलबार सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयमा सत्ता पक्ष र प्रतिपक्षको समझदारी रहेको बताएपछि महामन्त्री थापाको यस्तो प्रतिक्रिया आएको हो ।


उनले भनेका छन्- 

प्रधानमन्त्रीले भन्नुभएछ- ‘सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा उभिएर टिकटक बन्द गर्ने निर्णय गरिएको हो ।’ प्रमज्यूलाई प्रश्न छ, कुन सहमति? हाम्रो पार्टी नेपाली कांग्रेस सँग कहाँ र कहिले भयो छलफल? कहाँ भयो सहमति? कहिले,कसले गर्‍यो सहमति ? 

१) प्रमज्यू, पूर्व प्रधानमन्त्रीज्यूहरूको क्लबको बन्द कोठाका बैठकमा हुने सम्झौता पार्टीहरूको बिचमा भएको सहमति नभन्नुहोस्, नभन्ठान्नुहोस् । यो तपाईँहरू बिचको समझदारी हो पार्टीहरू बिचको होइन । पार्टी भनेको पार्टी प्रमुखको निजी कम्पनी होइन, कुनै मत पार्टीको मत हुन पार्टी भित्र छलफल हुनुपर्छ । अतः पार्टी प्रमुखहरू बसेर गर्ने यस्ता लहडी निर्णय र सम्झौताको भारी हामी बोक्दैनौ पार्टीले बोक्न सक्दैन । 

२) यहीँ प्रसङ्गमा कति साथीहरूले, ‘सरकारले गर्ने निर्णयको सत्ता पक्षकै सांसद र पार्टीका पदाधिकारीले विरोध गर्न मिल्छ?’ भन्ने कुरा उठाउनु भएको छ ।

त्यसको उत्तर हो, मिल्छ । गलतको विरोध, प्रतिरोध सबै गर्न मिल्छ, गर्नुपर्छ। हिजो पनि गलतलाई गलत भनेका हौं,आज पनि र भोली पनि भन्छौं। सत्तामा हुँदा गलत पनि ठिक र त्यही कुरा प्रतिपक्षमा हुंदा गलत भन्ने हुंदैन । बरु,सरकारले आधारभूत रूपमै गलत काम गर्दा सत्ता पक्ष भनेर मौन बस्नु चाहिँ गलत हो ।

३) जहाँ प्रजातन्त्रको आधारभूत विषय आउँछ, त्यहाँ निर्णय गर्ने ठाउँमा को छ हेरिँदैन । हिजो ज्ञानेन्द्रको शासन हुँदा होस् वा केही समय अगाडि नेकपाको सरकार हुँदा होस्, जहिले-जहिले अभिव्यक्ति स्वतन्त्रता माथि धावा बोल्ने र अंकुश लगाउने काम भयो, हामी त्यसको विरुद्ध उभिएका छौँ, उभिइरहने छौं । हिजो त्यहीँ काम अरूले गर्दा गलत, हामीले गर्दा सही हुँदैन ।