म्याग्दी । म्याग्दीको ‘करबाकेली इको’ पदमार्गमा काव्ययात्रा थालिएको छ । करबाकेली बाबा संरक्षण समितिको आयोजनामा देशका विभिन्न ठाउँका १८ कबि, लेखक, पत्रकार र पर्यटनकर्मी सोमबार बेनी बजारबाट करबाकेली इको पदमार्गको यात्रामा गएका हुन् ।
बेनीबाट करबाकेली हुँदै पुनहिल पुगेर चार दिनमा काव्ययात्रा सकिने करबाकेली बाबा संरक्षण समितिका संरक्षक चामबहादुर पुनले जानकारी दिए । “साहित्यको माध्यमबाट यो ठाउँको प्रचार–प्रसारका साथै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काव्ययात्रा आयोजना गरिएको हो, यहाँको प्रकृति, संस्कृति र जीवनशैलीलाई साहित्यमार्फत उजागर गर्ने पनि उद्देश्य रहेको छ”, उनले भने ।
काव्ययात्रामा प्रगति राई, प्रभा बराल, कुमारी लामा, अभय श्रेष्ठ, हेमन्त विवश, सागर उदास, रञ्जन राजभण्डारी, घनश्याम पौडेल, तारानाथ पहाडी, दिनेशनारायण श्रेष्ठ, राजकुमार गजुरेल, भवानी शिलाकार र सुरेन्द्र राना सहभागी छन् ।
बेनीबाट मल्लाज बाँसखर्क महभिर हुँदै टोली करबाकेली पुगेको छ । यात्राका क्रममा स्थलगतरूपमा रचना तयार पार्ने र सोही स्थानमा प्रस्तुत गरिने यात्रामा सहभागी हुन तनहुँबाट आउनुभएका गीतकार सागर उदासले बताए ।
“स्थलगतरूपमा करबाकेली क्षेत्रको बारेमा रचना बाचन गर्नुका साथै यात्रा अनुभुति, कथा, कविता, आलेख सङ्कलन पनि हुनेछ”, उनले भने “खप्तड, फोक्सुण्डो र तनहुँको आमस्वाँरा होमस्टेको काव्ययात्रा फलदायी बनेको थियो ।”