निम्न माध्यमिक तह लाईसेन्स परीक्षामा ९१ प्रतिशतभन्दा बढि फेल



काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह अध्यापन अनुमति पत्र–२०८० को नतिजा सार्वजनिक गरेको छ । गत कात्तिक १८ गते आयोगले लिएको परीक्षाको नतिजा हिजो सार्वजनिक भएको हो । आयोगले लाईसेन्स परीक्षामा ५० वटा वस्तुगत प्रश्न सोध्ने गरेको छ । एउटा प्रश्नको अंकभार २ रहेको छ । लाईसेन्स परीक्षा उर्तिण हुनका लागि कम्तिमा ५० नम्बर ल्याउनुपर्छ ।

आयोगले लिएको परिक्षामा देशभरबाट एक लाख ५१ हजार १२ जना परीक्षार्थी सहभागी थिए । सहभागी परीक्षार्थीमध्ये १३ हजार सात जनामात्रै पास भएका छन् । कूल परीक्षार्थी मध्ये ८ दशमलव ६१ प्रतिशतमात्रै पास भएका छन् । आयोगले लिएको परीक्षामा ९१ प्रतिशतभन्दा बढि फेल भएका छन् ।


बागमती प्रदेशबाट उक्त परीक्षामा १७ हजार छ सय ५१ विद्यार्थी सहभागी थिए । जसमध्ये दुई हजार दुई जनामात्रै उतीर्ण भए । त्यस्तै लुम्बिनीमा २९ हजार दुई सय ३० जना परीक्षार्थी परीक्षामा सहभागी भएपनि त्यहाँबाट दुई हजार आठ सय ६३ परीक्षार्थीले लाईसेन्स परीक्षा पार गरे ।

त्यसैगरी गण्डकीमा ११ हजार आठ सय ९७ परीक्षार्थी सहभागी भएकामा एक हजार एक सय ५२ जना उत्तीर्ण भए । कोशीमा २४ हजार ३९ जना परीक्षार्थीले परीक्षा दिएका थिए । कोशीमा दुई हजार एक सय ३० जनामात्रै उत्तीर्ण भए ।

त्यसैगरी, सुदुरपश्चिममा २१ हजार एक सय ८६ परीक्षार्थी परीक्षामा सहभागी भएकामा एक हजार एक सय ७२ जनामात्रै परीक्षार्थी उत्तीर्ण भएका छन् । त्यस्तै, मधेश र कर्णालीको अवस्था पनि दयनियनै रहेको छ । मधेशमा २२ हजार आठ सय ५५ जना परीक्षामा सहभागी भएकामा एक हजार छ सय १४ जनामात्रै उत्तीर्ण भएका छन् भने कर्णालीमा २४ हजार एक सय ५४ परीक्षार्थी सहभागी भएकामा एक हजार पाँच सय ७४ जनामात्रै उत्तीर्ण भएका छन् ।

उत्तीर्णहरुको प्रतिशत बागमतीमा ११ दशमलव ३४, लुम्बिनीमा ९ दशमलव ७९, गण्डकीमा ९ दशमलव ६८, कोशीमा ८ दशमलव ८६, सुदूरपश्चिममा ७ दशमलव ८९, मधेशमा ७ दशमलव ०६ र कर्णालीमा ६ दशमलव ५२ रहेको छ ।