नक्कली शरणार्थी प्रकरण : पुनरावलाेकन निवेदनमा आज सरकारी वकिलले बहस गर्दै



काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेक आदेशविरुद्धको पुनरावलोकन निवेदनमा आजबाट सरकारी वकिलले बहस गर्दैछन् ।

गत मंगलबारदेखि उच्च अदालत पाटनमा न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा जारी सुनुवाइमा प्रतिवादीतर्फका सबै कानुन व्यवसायीको बहस हिजो सकिएपछि आजबाट सरकारी वकिलले बहस गर्नेछन् ।


सरकारी वकिलको बहस सकिएपछि प्रतिवादीतर्फका वकिलले जबाफी बहस गरेपछि पुनरावलोकन निवेदनमा उच्च अदालतले फैसला सुनाउने छ । सम्भवतः आज र भोलिमा फैसला आउने छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले गत असार १ गते थुनछेक आदेश सुनाउँदै १६ जना प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

प्रतिवादीमाथि ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी अभियोग छ । ठगी प्रकरणका अभियुक्त सबैले जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा गत साउन १२ गते पुनरावलोकन निवेदन दिएका थिए ।