काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशक पदका लागि आज निर्वाचन हुँदै छ ।उक्त पदमा नेपाल र बंगलादेशका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै छ। नेपालले डब्लूएचओमै कार्यरत शम्भुप्रसाद आचार्यलाई उम्मेदवार बनाएको छ ।
उनीसँग बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेदले प्रतिस्पर्धा गर्नेछिन् । प्रधानमन्त्रीकै छोरी उम्मेदवार भएकाले उनका लागि बंगलादेश सरकारले कूटनीतिक लबिइङमा जोड दिएको छ ।
डब्लूएचओको दक्षिण–पूर्वी एसियाको क्षेत्रीय कमिटीको बैठक नयाँदिल्लीमा सोमबारदेखि सुरु भएको हो । यही बैठकले नयाँ क्षेत्रीय निर्देशकको पनि चयन गर्नेछ । डब्लूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालय दिल्लीमा छ । यसअन्तर्गत ११ देश सदस्य छन् ।
हाल क्षेत्रीय निर्देशक पदमा भारतका डा। पुनम खेत्रपाल सिंह छिन् । उनले दोस्रो कार्यकाल पूरा गर्दै छिन् । डब्लूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रमा नेपाल, भुटान, उत्तर कोरिया, भारत, बंगलादेश, इन्डोनेसिया, माल्दिभ्स, म्यान्मार, श्रीलंका, थाइल्यान्ड र टिमोर लिस्टे छन् । ११ सदस्य राष्ट्रहरूमध्ये यसपटक म्यान्मारले मत दिन पाउने छैन । त्यहाँ सैनिक शासन रहेको र संयुक्त राष्ट्रसंघले मान्यता नदिएकाले म्यान्मारले मतदान दिन नपाउने भएको हो ।