चिकित्सा शिक्षा अध्ययनका लागि नीतिगत सुधार आवश्यकः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिकित्सा शिक्षा अध्ययन अध्यापनलाई सबै प्रदेशहरूमा विस्तार गरी सरल रुपमा स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक रहेको बताएका छन् । यसका लागि आवश्यक पर्ने कानुनी, नीतिगत र संस्थागत सुधारहरु क्रमशः अगाडि बढाउँदै लैजान सबै मिलेर काम गर्नुपर्ने उनले बताए ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा चिकित्सा शिक्षा आयोगको १२औं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले देशमा उत्पादन भएका जनशक्तिका लागि सम्मानजनक रोजगारीको अवसर सिर्जना गर्दै सर्वसुलभ सेवा प्रवाहमा सुधार ल्याउनुपर्ने बताए ।


त्यस्तै, आगामी दिनका लागि स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने जनशक्तिको आँकलनका आधारमा चिकित्सा शिक्षा अध्ययनको अवसर वृद्धि गर्दै लैजानु जरुरी भएको प्रधानमन्त्रीले बताए ।

प्रधानमन्त्री दाहालले चिकित्सा शिक्षा अध्ययन र अध्यापनको व्यवस्था सातै प्रदेशमा मिलाउन आवश्यक नीतिगत, कानूनी र संस्थागत सुधार गर्न सबैको साथ आवश्यक भएको उल्लेख गरे ।

‘सबै प्रदेशहरूमा चिकित्सा शिक्षा विस्तार गरी आवश्यक सबै प्रकारको जनशक्ति विकास गरी जनताको घरदैलोमा सरल र सहजरुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने वातावरण बनाउन कानुनी, नीतिगत र संस्थागत सुधारहरु क्रमशः अगाडि बढाउदै लैजान हामी सबै मिलेर काम गर्नु आवश्यक छ ।’