एक अंकको ब्याजदर कायम नभएसम्म उद्योग व्यवसाय फस्टाउँदैनन्ः शेखर कोइराला



विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको संघीय लोकतान्त्रिक व्यवस्थाको विकल्प नभएको बताएका छन् ।

शुक्रबार विराटनगरस्थित कोइराला निवासमा पत्रकारहरुसँग कुरा गर्दै कोइरालाले लोकतान्त्रिक व्यवस्थाको विकल्प नभएको र त्यसका लागि नेताहरुले चरित्र सुधार गर्नुपर्ने बताए ।


उनले राजनीतिक दल र नेताले चरित्र नसुधारे व्यवस्था खतरा पर्ने बताए । उनले भने, ‘यो व्यवस्थालाई टिकाउन राजनीतिक दल र नेताहरूको चरित्रमा सुध्रिनुपर्छ । राजनीतिलाई पेशा होइन सेवाका रुपमा लिएर अगाडि बढ्नुपर्छ ।’ कोइरालाले देशको अर्थतन्त्र सुधार गर्न सबै दलहरू एक ठाउँमा उभिनु जरुरी रहेको बताए ।

उनले मुलुकमा पटकपटक राजनीतिक परिवर्तन भए पनि जनताको जीवनस्तरमा परिवर्तन आउन नसक्नुमा राजनीतिक दलको कमजोरी रहेको बताए । उनले एउटै व्यक्तिले बैंक र उद्योगमा लगानी गर्दा अर्थतन्त्रमा समस्या देखिने गरेको बताए ।

कोइरालाले बैंक र उद्योगका लगानीकर्ता बेग्लाबेग्लै बताए । एउटै व्यक्तिले दुवैतर्फ लगानी गर्दा उद्योगी व्यवसायीहरू समस्यामा पर्ने गरेको उनले बताए ।

उनले भने, ‘उद्योगी व्यवसायीले बैंकको ब्याज घटाउन जतिसुकै माग गर्दा पनि ब्याज नघट्नुका कारण पनि त्यही हो ।’ देशको अर्थतन्त्र समस्याग्रस्त हुँदा पनि बैंकहरू नाफा आर्जन गर्न सफल भएको उनले बताए ।

समस्याको बेला थोरै नाफा कमाएर सेवा प्रवाह गर्नुपर्नेमा कोइरालाले जोड दिए । कोइरालाले एक अंकको ब्याजदर कायम नभएसम्म उद्योग व्यवसाय नफस्टाउने जिकिर गरे ।