काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले उल्टो व्यवस्थाबाट सुल्टो बाटो हिँड्न नसकिने टिप्पणी गरेका छन् । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयतर्फ इङ्गित गर्दै मिश्रले टिकटकका कारण नभई ‘प्रचण्डीकरण’ भएको ‘अग्रगमन’ को गलत भाष्यले नेपाली समाजको सद्भाव खलबलिएको टिप्पणी गरेका हुन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘‘‘प्रचण्डीकरण’ भएको समाजमा ‘प्रचण्डपथगामी’ हरूका कारण यो देशको सामाजिक, धार्मिक, सांस्कृतिक, साम्प्रदायीक सबै सद्भाव खलबलिँदै जान्छ र देशको दूरगामी हितमै असर पर्छ भन्दा नपत्याउने । नेपाली समाजको पत्र–पत्र पतित भएको/खलबलिएको टिकटकले होइन । ‘प्रचण्डीकरण’ भएको ‘अग्रगमन’ को गलत भाष्यले हो ।’’
रोग जरामा लागेको छ भने हाँगामा उपचार खोजेर नहुने भन्दै उनले लेखेका छन्, ‘‘हेर्दै जानोस् न ‘प्रचण्डपथ’ मा देशलाई हिँडाइरहने हो भने कहाँ–कहाँ पुगिन्छ, के, के बन्द हुन्छ ! रोग जरामा लागेको छ, उपचार हाँगामा खोजेर हुँदैन ।’’