काठमाडौं । उच्च अदालतका चारवटा इजालसबाट भर्चुअल सुनवाई सुरु भएको छ । जसअनुसार हेटौंडा, जुम्ला, महेन्द्रनगर र धनकुटासहित चारवटा इजलासमा आजबाट श्रव्यदृश्यमार्फत भर्चुअल सुनुवाइ शुरू भएको हो ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आफ्नो कार्यकक्षबाट भर्चुअल सुनवाईको आज उदघाटन गरेका छन् । उच्च अदालत हेटौंडामा न्यायाधीश शान्ता सेढाइँ र निर्मला शाक्यको संयुक्त इजलासमा बिहीबार भएको भर्चुअल सुनवाई गरी आजको कार्यक्रम उदघाटन गरिएको हो ।
सो क्रममा चितवनका कानून व्यवसायी मदन दाहालले आफ्नो ल च्याम्बरबाटै हेटौडाको इजालसमा आफनो मुद्दाको बहस गरेका थिए । रुपेश ढुंगाना निवेदक रहेको लागूऔषध मुद्दामा उनले हेटौडा उच्च अदालतमा चितवनवाट भर्चुअल बहस गरेका हुन् ।
यसअघि उच्च अदालत दिपायल र इलाम इजलासमा यस्तो व्यवस्था गरिएको थियो । सेवाग्राही तथा कानुन व्यवसायीको समय र खर्चको बचत तथा न्यायमा पहुँच पु¥याउने उद्देश्यले भर्चुअल बहसको सेवा सुरु गरिएको प्रधानन्यायाधीश श्रेष्ठले बताए ।
यस्तो सेवाले नेपालको भूधरातलीय स्थिति र दुर्गमका जनतालाई न्यायमा सहज पहुँचका लागि सहयोग मिल्ने र सेवाग्राहीले गर्नुपर्ने खर्च तथा भोग्नुपर्ने सास्तीमा कमी आउने प्रधानन्यायाधीश श्रेष्ठको विश्वास छ ।
उच्च अदालत दिपायलको भर्चुअल बहसमा कानुन व्यवसायी, इजलास र कारागार कार्यालयमा समेत लिंक दिने गरिएकाले अब जेलमा रहेका कैदीबन्दीहरुले समेत आफ्ना कानुन व्यवसायीले कस्तो बहस गरे भन्ने प्रत्यक्ष देख्न र सुन्न पाउने भएका छन् ।
भर्चुअल इजलासको व्यवस्था गरेसँगै मुद्दा फर्छ्यौटमा तीव्रता ल्याउने प्रधानन्यायाधीश श्रेष्ठको दाबी छ । उनले यसले सेवाग्राहीको खर्चमा पनि कमी ल्याई न्यायका लागि धेरै खर्च गर्नुपर्ने अवस्थामा कमी आउने अपेक्षा गरे ।
यस्तो सुविधाले हुम्ला, जुम्ला, कर्णाली प्रदेशका सेवाग्राहीका लागि सहजता प्रदान गरेको प्रधानन्यायाधीश श्रेष्ठले बताए । साथै, यसले बिस्तारै सेवा सुचारु भएपछि अब कानुन व्यवसायीले आफ्नै चेम्बरबाट बहस गर्न सक्ने भएकाले सबैलाई फाइदा पुग्ने उनको भनाइ छ । उनले भने, ‘अब बिस्तारै देशैभरीका उच्च अदालत र मातहतका इजलासमा यस्तो सेवा सुरु गर्न गरिने छ ।’