काठमाडौं । सरकारले १ सयदेखि ३ सयसम्म बेड भएका सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स पढाउने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्रालयले सो निर्णय गरेको जानकारी दिएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र सम्बन्धित निकायसँग पटकपटक छलफल गरेपछि आफूले सो नीतिगत निर्णय लिएको उनको भनाई थियो । मन्त्री बस्नेतले नेपालमा पढ्न नसक्ने र बाहिर पनि जान नसक्नेहरु डिप्रेशनमा जाने क्रम बढेपछि आफूले चिकित्सा शिक्षा अध्ययनका लागि क्रान्तिकारी रुपान्तरण नै हुने गरी सो निर्णय लिएको पनि दोहोर्याए ।
उनले सो निर्णय कार्यान्वयनका लागि सम्बन्धित अस्पतालहरुसँग सुझाव लिन शुरु गरेको बताए । मन्त्री बस्नेतले ३ सयभन्दा बढी बेड भएका सरकारी अस्पतालमा भने एमबीबीएसको पनि पठनपाठन हुने गरी सम्बन्धित निकायसँग छलफल गरेको पनि बताए ।
‘बाहिर जान नसक्ने, यहाँ पढ्न नसक्ने अवस्था भएपछि हाम्रा भाइबहिनीहरु डिप्रेशनको शिकार हुन थाले र डिप्रेशन भयो भनेर दिनैपिच्छे कम्तिमा १ जना र बढीमा ६ जनासम्म मकहाँ आउन थालेका छन् । अब हामीले पनि नीतिगत रुपमा केही निर्णय नगरि भएन भनेर मैले सुधारका कुराहरु लिएर क्याबिनेटमा २र३ महिनाअगाडि लगेको थिएँ र सम्माननीय प्रधानमन्त्रीज्युले शिक्षा, स्वास्थ्यमन्त्री र सचिवजीहरु, चिकित्सा शिक्षा आयोगसँग बसेर पटक पटक छलफल गर्नुभयो‚’ उनले भने, ‘अहिले त्यो प्रक्रिया अघि बढिसकेको छ मैले अघि नै भनेँ। त्यतिले मात्र पनि यो समस्या हुने देखेर हामीले हिजो मंगलवार एउटा निर्णय गर्यौँ। १ सयदेखि ३ सय बेडसम्म चलेका संघीय वा प्रादेशिक वा स्थानीय तहका सरकारी अस्पतालहरुमा पारामेडिक्स र नर्सिङ पढ्नका लागि खुला गर्ने र आजै चिठी लेखेर राय पनि मागिसक्यौं । ३ सयभन्दा बढी बेड भएकामा भने पारामेडिक्स र नर्सलगायत एमबीबीएसको कक्षा पनि सञ्चालन गर्ने अनुमति दिनेबारे आयोगलाई पनि पत्राचार गर्ने भएका छौं।’
मन्त्री बस्नेतले आफूले स्वास्थ्य क्षेत्रमा पर्याप्त सुधारको काम गरेको र त्यसका लागि बजेटको अभाव हुन नदिने दाबीसमेत गरे ।