१६औँ ढोरपाटन महिला भलिबल च्याम्पियनसिप माघको दोश्रो सातादेखि



काठमाडौं । १६औँ संस्करणको ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिप माघको दोश्रो सातादेखि काठमाडौंमा आयोजना हुने भएको छ ।

आयोजक ढोरपाटन क्लबले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महिला भलिबल डबल लिग च्याम्पियनसिप माघ १२ गतेदेखि २२ गतेसम्म नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस क्लबको खेल मैदानमा हुने जानकारी दिएको हो । प्रतियोगितामा ९ टोली सहभागी हुने क्लवले जनाएको छ ।


डबल राउण्ड रोविन लिगका आधारमा खेलाइने लिगको विजेता टोलीलाई पाँच लाख एक हजार र उपविजेतालाई दुई लाख ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जानएको छ । यस्तै तेस्रो, चौथो, पाँचौँ र छैटौँ हुने टोलीलाई क्रमशः एक लाख २५ हजार, ७५ हजार, ५० हजार र २५ हजार रुपियाँ प्रदान गरिने ढोरपाटन क्लबले जानकारी दियो ।

पत्रकार सम्मेलनमा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले उक्त प्रतियोगितालाई संघको सम्पूर्ण साथ र सहयोग रहने बताए । उनले आगामी दिनमा भलिबलका ठूला प्रतियोगिता आयोजना गर्न लागिएको भन्दै त्यसको तयारीका लागि पनि ढोरपाटन भलिबल प्रतियोगीता महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

ढोरपाटन क्लबले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान स्कुटर र विधागत उत्कृष्टलाई जनही पाँच हजार रुपैयाँ प्रदान गरिने जनाएको छ । कोरोना महामारी र भलिबल संघको चुनावका कारण तीन वर्षपछि प्रतियोगिता गर्न लागेको क्लबले जानकारी दिएको छ ।