हमासले छोड्न थाल्यो बन्धक: १२ थाई र १३ इजरायली नागरिक रिहा



युद्धविरामको शर्त अनुसार हमासले बन्धक बनाएका नागरिकको रिहा गर्ने क्रम शुरु गरेको छ ।

मिडिया रिपोर्टका अनुसार हमासले बन्धक बनाएका थाइल्याण्डका १२ नागरिकलाई रिहा गरेको छ । थाइल्याण्डका प्रधानमन्त्री स्रेथा थावीसिनले हमासले १२ थाई बन्धकलाई रिहा गरेको जानकारी दिएका हुन् ।


उनले थाइल्याण्ड सरकारका प्रतिनिधिहरुले १२ थाई नागरिकलाई बुझेको बताएका छन् ।

त्यस्तै हमासले केहि बेरअघि मात्र १३ इजरायली बन्धकलाई पनि छोडेको सिएनएनले उल्लेख गरेको छ । १२ इजरायली बन्धक अहिले इजिप्टमा रेडक्रसले बुझेको बताइएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेत्यानेहूको कार्यालयले पनि १३ इजरायली बन्धकलाई हमासले रेडक्रसको जिम्मा लगाएको पुष्टि गरेको छ ।

युद्धबिरामसँगै बन्धक रिहा हुने क्रम शुरु भएपछि हमासले नियन्त्रणमा लिएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाई पनि सकुशल हुने अपेक्षा गरिएको छ । उनलाई हमासले नियन्त्रणमा लिएको पुष्टि भएपनि अहिले उनको अवस्था बारे भने स्पष्ट जानकारी आउन सकेको छैन ।