काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले नयाँ राजनीतिक दलहरुलाई ध्वस्त पार्छौं भनेर ठूला राजनीतिक दलहरुले भनिरहेको बताउँदै यो कस्तो आक्रोश पोख्न हो भन्दै प्रश्न उठाएका छन् । ठूला नेताहरुले संसद्लाई भाषण गर्ने थलोमात्रै बनाएको उनको आरोप छ ।
अध्यक्ष राउतले भने, ‘यहाँहरु आफू समीक्षा गर्न सक्नुहुन्न । यो देशलाई कुन भड्खालोमा लगिसक्यो ? देश कसरी गरिबीको भूमरीमा पस्यो भनेर समीक्षा गर्दैनौं । अनि हामी लम्बाचौडा भाषण गर्छौ । यो कक्षाकोठा हो र ? यो ठूला नेताहरूको लागि रंगमञ्च हो ?’
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अहिलेको व्यवस्थामाथि प्रश्न गर्ने पर्याप्त आधार रहेको बताए । राउतले भने, ‘यो व्यवस्थामाथि प्रश्न गर्ने पर्याप्त आधारहरू छन् । त्यो हामीले स्वीकार्न सक्नुपर्छ । नेपालीमा एउटा उदाहारण छ, जो…हुन्छ उसैको ठूलो स्वर । ३४ वर्षदेखि देशलाई कहाँबाट कहाँ पुर्याएको छ त्यो थाहा छैन ।’
ठूला रावजनीति दलहरूले चियापान समारोह गर्दै नयाँ शक्तिहरूलाई लक्षित गरेर ध्वस्त पार्ने प्रतिक्रिया दिएको बताउँदै भने, ‘अनि हामी नयाँ उदयामान शक्तिहरूलाई लक्षित गर्छौं । चियापान समारोहमा बोलाउँर्छौं र त्यहाँ भन्छौं– नयाँहरूलाई हामी ध्वस्त पार्छौं भनेर चुनौती दिन्छौं । यो कस्तो खालको आक्रोश हो ?’
संसदमा जनताको आवाज उठेपछि त्यसको सुनुवाइ हुनुपर्ने उनको भनाइ छ । उनले अहिले देश टाइटनिक डुबेजस्तो डुबिरहेको टिप्पणी गरे गर्दै भने, ‘यो अरुले होइन, यसका चालकहरु नै हुन् । उनीहरू आफू चाहीँ बोटमा सुरक्षित जोगिइरहेका छन् ।’