शान्ति सम्झौताका बाँकी काम टुंगोमा पुर्याउने विषयमा तीन दलका शीर्ष नेता छलफलमा



काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेता छलफलमा जुटेका छन् । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा छलफलमा जुटेका हुन् ।

शान्ति सम्झौताका बाँकी कामहरूलाई यथासक्य छिटो टुंगोमा पुर्याउने प्रतिबद्धता सहित छलफलमा जुटेको एमाले अध्यक्ष ओलीले जानकारी दिएका छन् ।


उनले भनेका छन्, ‘आज मङ्सिर ५ गते सात राजनीतिक दल र तत्कालीन नेकपा(माओवादी) ले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको दिन । उक्त सम्झौतामा हस्ताक्षर गर्ने दलहरू मध्यका ३ जना शीर्ष नेताहरू सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा शेरबहादुर देउबा बालुवाटारमा बसी शान्ति सम्झौताका बाँकी कामहरूलाई यथासक्य छिटो टुंगोमा पुर्याउने प्रतिबद्धता सहित छलफलमा ।’

सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच भएको विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको १७ वर्ष पूरा भएको छ । विसं २०६३ मंसिर ५ गते शान्ति सम्झौता भएको थियो ।