रुपेश सर्राफलाई गोली हान्न पेशेबर सुटर प्रयोग, हत्यामा संलग्न ५ जना सार्वजनिक



बारा । कलैयास्थित बाल एकता बोडिङ्ग स्कुलका सञ्चालक रुपेश सर्राफको हत्यामा ८ जना व्यक्ति प्रत्यक्ष संलग्न रहेकामध्ये प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । कलैया भरतचोकनजिकै सोमबार निजी विद्यालयका सञ्चालक सर्राफको हत्यामा संलग्न ५ जनालाई बुधबार बारा प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहश्रमा कलैया उपमहानगरपालिका–२ बस्ने राधा गुप्ता, जाबेर अख्तर, चन्दन यादव, रियाज अन्सारी र अभिनव कुमार सिंह रहेकोे प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए । उनका अनुसार हत्याको मुख्य अभियुक्त एवं योजनाकार मनोज गुप्ता भने भारतमा फरार भएका छन् ।


जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफलेका अनुसार सर्राफ हत्या प्रकरण एक महिलाको रिसइवीका कारण हुन पुगेको हो । सर्राफलाई गोली हान्ने व्यक्ति पेशेवर सुटर रहेको प्रहरीले जनाएको छ । प्रहरीले हत्यामा प्रत्यक्ष संलग्नता ८ जनाको भएपनि पाँचजना अनुसन्धानको दायरामा आएको र थप मानिससँग पनि सोधपुछको भइरहेको जनाएको छ ।

‘विशेषगरी यो घटनामा ८ जना व्यक्ति प्रत्यक्ष संलग्न भएको देखिएको छ । त्यसमध्येका पाँच जना पक्राउ परेका छन्’ जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक काफ्लेले भने, ‘बाँकीको खोजतलास भइरहेको छ । घटना हुनुमा महिलासँगको सम्बन्धको रिसइवी देखिन्छ ।’