रुकुमका भूकम्पपीडितलाई सहयोग पुर्‍याउन स्थानीय सरकारको आह्वान



रुकुम पश्चिम । गएराति गएको भूकम्पबाट अतिप्रभावित रुकुमका स्थानीय तहका प्रमुखले पीडितको उद्धार र राहत कार्यमा थप सहयोग पुर्‍याउन प्रदेश र सङ्घीय सरकारसँग आग्रह गरेका छन् । रुकुम पश्चिमका सानोभेरी गाउँपालिका, आठबिसकोट र चौरजहारी नगरपालिकाका प्रमुखले पहिलो चरणमा घाइतेको उद्धार र उपचार गरी तत्काल अत्यावश्यक राहत सामग्री उपलब्ध गराउने कार्य भइरहेको बताउँदै थप सहयोगका लागि प्रदेश र सङ्घसँग आग्रह गरेका हुन् ।

भूकम्प प्रभावित सानीभेरी गाउँपालिकामा हालसम्म १२ जनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष कमला रोक्काले जानकारी दिइन् । उनका अनुसार मृतकमध्ये चार बालबालिका छन् । अध्यक्ष रोक्काले घाइतेको उद्धार र शव व्यवस्थापनलाई प्राथमिकता दिँदै त्यस कार्यमा खटिरहेको जानकारी दिइन् । उक्त गाउँपालिकाको वडा नं १ भूकम्पबाट बढी प्रभावित भएको छ भने पालिकाभित्रका अधिकांश घरमा क्षति पुगेकाले बस्न नमिल्ने अवस्थामा छन् ।


पालिकाका चार हजार घरधुरीमध्ये तीन हजार सातसयभन्दा बढी घरमा क्षति पुगेको अध्यक्ष रोक्काले बताइन् । उनले भनिन्, “तत्काल रात काट्नका लागि ओड्नी ओछ्याउनी कम भएकाले घरमा रहेको परालसमेत प्रयोग गर्नुपर्ने अवस्था छ । पीडितको राहत सहयोगका लागि पालिका पदाधिकारीलगायत सबै सदस्य लागि पर्नुभएको छ ।”

अध्यक्ष रोक्काका अनुसार पालिकाभित्र रहेका दुई अस्पतालमध्ये जिल्ला र आधारभूत अस्पतालमा घाइतेको उपचार भइरहेको छ । भूकम्पपीडितलाई तत्काल खाद्यान्न, त्रिपाललगायत ओड्नी ओछ्याउनीको आवश्यकता रहेको छ । दुर्गम क्षेत्र भएकाले कतिपयको उद्धार कार्य जारी छ ।

यस्तै, आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले नगरपालिकाभित्र ४३ जनाको मृत्यु भएको जानकारी दिए । उनका अनुसार नगरपालिकामा एकै परिवारका पाँच जनासम्मको निधन भएको छ । भूकम्पबाट घाइते भएका ७० मध्ये चार जना स्थानीय अस्पतालमा उपचारपछि घर फर्किसकेका केसीले बताए । उनका अनुसार घाइतेको आधारभूत नगर अस्पतालमा उपचार भइरहेको छ । राहत उद्धार कार्यको जानकारी लिन प्रधानमन्त्री र प्रदेश प्रमुखलगायतका नेता तथा कार्यकर्ता त्यहाँ पुगेका थिए । उद्धारको काम दिउँसोसम्म चलिरहेको र शव परीक्षणको कार्य पनि भइरहेको नगरप्रमुख केसीले जानकारी दिए ।

भूकम्पबाट भएको मानवीय क्षतिको पाटोलाई प्राथमिकता दिएकाले पशुधनलगायत अरु क्षतिका विषयमा ध्यान पुर्‍याउन नसकिएको उनले बताए । नगरप्रमुख केसीले स्थानीय सरकार हुनुका नाताले उपलब्ध स्रोतसाधनका आधारमा यथासम्भव राहतका कार्यक्रम आवश्यकताअनुसार वितरण हुने बताए । साथै, राहत र पुर्नवास र क्षतिपूर्तिका लागि प्रदेश र केन्द्रीय सरकारसँग अपेक्षा गरिएको उनको भनाइ थियो ।

चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादीका अनुसार पालिकाभित्र २१ जना गम्भीर घाइते भएकामा दुई जनाको अवस्था गम्भीर रहेको छ । दुई महिलासहित तीन जनालाई थपउपचारका लागि जिल्ला बाहिर पठाइएको उनले बताए । स्थानीय तहमा उपलब्ध केही लत्ताकपडा र त्रिपाललगायतका राहतका सामग्री पीडितलाई वितरण गर्न लागिएको उनले जानकारी दिए ।

क्षतिको यकीन विवरण अझै आइनसकेकाले विवरण सङ्कलनको कार्य भइरहेको जनाउँदै नगर प्रमुख बादीले बिरामीको उद्धार र उपचारका लागि आफूहरु केन्द्रित भइरहेको बताए । पालिकाभित्रका कसैको पनि घर बस्न योग्य नरहेको उनको भनाइ थियो ।

प्रदेश र स्थानीय सरकारसँग बस्ती पुनःनिर्माणको अपेक्षा गरिएको बताउँदै नगर प्रमुख बादीले पहिलो चरणमा उद्धार र उपचार गरिएको, दोस्रो चरणमा जनप्रतिनिधिलाई परिचालन गरी राहत वितरण गरिने जानकारी दिए । उनका अनुसार सामूहिक रुपमा निश्चित ठाउँमा त्रिपाललगायतका सामग्री वितरण गरिनेछ ।