काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित जिल्ला जाजरकोट पुगेका छन्। मंगलबार जाजरकोट पुगेर राष्ट्रपति पौडेलले भूकम्पका घाइतेहरुसँग भेट गरेका छन् ।
घाइतेहरु उपचाररत जिल्ला अस्पताल जाजरकोट पुगेर राष्ट्रपति पौडेलले घाइतेहरुको अवस्था बुझ्नुका साथै उपचारको व्यवस्थाबारे समेत जानकारी लिएका छन् ।
जिल्ला अस्पताल पुगेर राष्ट्रपति पौडेलले भेरी नगरपालिका – १ की ६३ वर्षीया सितली कामी र भेरी नगरपालिका– ३ का वीरे पुनलाई भेटेर स्वास्थ्य अवस्था तथा उपचारको प्रबन्धबारे जानकारी लिएका थिए । राष्ट्रपति पौडेल आफ्नो पूर्वनिर्धारित युरोप भ्रमण स्थगित गरेर मंगलबार भूकम्प प्रभावित क्षेत्रको भ्रमणमा निस्किएका हुन् ।