काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति रामचन्द्र पौडेलमाथि पनि खनिएका छन् । गठबन्धन सरकारविरुद्ध खरो अभिव्यक्ति दिँदै आएका अध्यक्ष ओलीले पौडेललाई कांग्रेस नेताका रुपमा टिप्पणी गरेका हुन् । शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजित विशेष भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रपति पौडेलेले भूकम्प प्रभावित क्षेत्रको भ्रमणको गरेको प्रशंग निकाल्दै यस्तो टिप्पणी गरेका हुन् ।
अध्यक्ष ओलीले पौडेलले भूकम्प प्रभावित क्षेत्रको भ्रमण राष्ट्रपतिको रुपमा नभई कांग्रेस बनेर गएको टिप्पणी गरे । मंसिर ७ गतेको प्रदर्शनको तयारीको सन्दर्भमा आयोजित भेलालाई सम्बोधन अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि प्रधानमन्त्री नभई अध्यक्षको रुपमा रुकुम र जाजरकोट पुगेको आरोप लगाए ।
भूकम्प प्रभावित क्षेत्रमा राष्ट्रपतिको भ्रमणबारे ओलीले भने, ‘उहाँ कांग्रेस छुट्यो भनेर जानुभएको हो । राष्ट्रपति किन गएको जाजरकोट र रुकुम ? कति मानिस म¥यो भन्ने सुन्नु नै भएको थियो । टेलिभिनज हेर्नु भएको थियो । कति घर भत्किए भनेर सुन्नुभएको थियो । नेताहरुको भीडले सेना प्रहरीले चाकडी गर्नुपर्ने अवस्थाले समस्या ल्यायो भन्ने पहिलेदेखि आएको थियो । अस्पतालमा घाइते हेर्ने नाममा उहाँहरुलाई ब्रिफिङ गर्न आउनुपर्ने अवस्था थियो । उहाँ राष्ट्रपति भएर जानुभएको होइन, कांग्रेस छुट्यो भनेर जानु भएको हो ।’
कात्तिक १७ गतेको जाजरकोट रामीडाँडा केन्द्रविन्दु ६.४ म्याग्निच्युडको भूकम्प जाँदा प्रभावित भएको जाजरकोट र रुकुमको राष्ट्रपति पौडेलले अवलोकन गरेका थिए ।
कार्यक्रममा अध्यक्ष ओलीले राष्ट्रपति पौडेल अलोकतान्त्रिक भएको र पक्षधरता देखाएको बताए । उनले भने, ‘किन भन्दैछु भने घण्टीको यत्रो बिगबिगी भएको समयमा घण्टीलाई भोट दियो भनेर भाषण गर्नुभएको थियो । रुखमा भोट दिएकोमा धन्यवाद दिनुभएको थियो । उहाँको निष्पक्षताको कुरा नै नगरौं । उहाँको सन्दर्भमा थुप्रै कुरा भइसकेको छ ।’
अध्यक्ष ओलीले एकवर्ष नपुग्दै राष्ट्रपतिले अलोकतान्त्रिक पक्षधरता र भेद्भावपूर्ण व्यवहार देखाइसकेको आरोप लगाए । उनले भने, ‘संविधानको मतलब छैन सुरुदेखि नै । संविधानअनुसार सरकार र देश चल्नुपर्ने र संविधानअनुसार राष्ट्रपति चल्नुपर्नेमा संविधान सिध्याउनेतर्फ लाग्नुभएको छ ।’