रामेछाप विमानस्थलमा कुटाकुट गर्ने तारा एयरका दुई पाइलट निलम्बित



काठमाडौं । तारा एयरले दुई पाइलटलाई निलम्बन गरेको छ । शुक्रवार बिहानै रामेछापको मन्थली विमानस्थलमा कुटाकुट भएपछि तारा एयरले दुई पाइलट सञ्जीव श्रेष्ठ र सन्तोष शाहलाई निलम्बन गरेको हो ।

शुक्रवार बिहान लुक्लाका लागि काठमाडौँबाट फ्लाइट नम्बर १११ मा गएका पाइलट शाह र मन्थली क्याम्पमा नै रहेका पाइलट श्रेष्ठबीच कुटाकुटको स्थिति बनेको तारा एयरले जनाएको छ ।


तथापि, यो घटनामा कम्पनी वा फ्लाइटको कुनै सम्बन्ध नभएको जिकिर गर्दै कम्पनीले दुई पाइलटहरूकै व्यक्तिगत रिसिबीका कारण घटना भएको जनाएको छ । घटनामा संलग्न पाइलटहरूमाथि छानबिन गर्न आन्तरिक छानबिन समिति समेत बनाइएको तारा एयरले जनाएको छ ।

घटनालगत्तै कम्पनीले अर्को पाइलटमार्फत मन्थली–काठमाडौँ जहाज उडान भरेको छ । नागरिक उड्डयन प्राधिकरणले पनि घटनामा संलग्न पाइलटहरूलाई निलम्बन गरेको जनाएको छ ।