राना थारू दिवारी : ‘कूल पूजादेखि गाउँलेलाई भोजसम्म’



महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ का गोविन्दा राना थारु बैलगाँडाको पूजा गर्दै भेटिए । बैलगाडाको शिरमा पूजा सकिएपछि रानाले घरको आगँनमा राखिएको मोटरसाइकलको पूजा गरे। उनले यसरी तिहार सकिएको दोस्रो दिन मात्रै नभइ हरेक वर्ष ‘दिवारी’ मा आफूलाई काम गर्न सहज हुने मोटरसाइकलदेखि बैलगाँडासम्मले लामो समय टिकाउ होस् भनेर पुज्न थालेको दशकौँ भइसकेको बताए।

मुलुकमै कञ्चनपुर र कैलालीमा मात्रै बसोबास रहेको राना थारु समुदायले दिवारी मनाउँदा कूल पूजादेखि बाहनहरुको पूजा हुँदै आफन्त, गाउँले र छिमेकीलाई भोज खुवाउने प्रचलनलाई आज पनि निरन्तरता दिएका छन् । राना थारू समुदायको परम्परामा भाइटीका लगाउने र लक्ष्मीको पूजा गर्ने चलन नरहेपनि पछिल्लो समय परम्परासँगै आधुनिकतासमेत भित्रिएको रानाको भनाइ छ ।


उनले विगतमा परम्परागत शैलीमा मनाइने दिवारीको समुदायमा छुट्टै रौनकता हुने गरेको भएपछि पछिल्लो समय आधुनिकताका कारण मौलिकता रहेपनि रौनकता भने कमहुँदै गएको बताए। ‘बाजेको पालामा तिहारमा भाइटीका लगाउने चलन नै थिएन भन्थे ।’ रानाले भने– ‘हाम्रो समुदायले तिहारलाई ‘दिवारी’का रुपमा मनाउने चलन भने अहिले पनि यथावत् छ ।’ राना समुदायले तिहारलाई दिवारीका रूपमा मनाउने र दिवारीको दिन घरको ज्येष्ठ पुरुष वा महिलाले भगवानको पूजा गर्ने चलन छ ।

त्यसैगरी शुक्लाफाँटा नगरपालिका– १ बन्साहका वडा सदस्य रानाराम रानाले राना समुदाय दिवारीले विशेष अर्थ राख्ने बताए। ‘एक महिना अघिदेखि नै घर लिपपोत गरेर सजाउने र राक्षसको नाश होस् भनी घरको ज्येष्ठ महिलाले भगवानको पूजा गर्ने चलन छ’ वडा सदस्य रानाले भने–’दिवारीको दिन पूजा नहुँदासम्म झाडु लगाउनेदेखि सवारी चलाउनेसम्मको काम रोकिन्छ ।’ यो समुदायले दिवारी कार्तिक शुक्ल पक्षको दोस्रो दिन मनाइने गर्छन् ।

‘पूजापाठ सकेपछि भाले कुखुरा काटेर खाने चलन रहेको छ ।’ उनले भने–’आजको दिन आफन्त, छिमेकीदेखि गाउँमा समुदायका नागरिक दिवारी भात खान बोलाउन घर घर पुग्ने प्रचलन छ ।’ त्यसैगरी स्थानीयवासी बलदेव रानाले भाइटीका पछिल्लो केही वर्षयता अरुको देखेर लगाउन थालेको बताए। ‘अहिले त राना थारु पहिरनमा सजिएर समूह बनाएर देउसी-भैलोसमेत खेल्न थाले ।’ उनले भने–’उहिले दिवारीको दिन गाउँका जमिन्दारको घरमा गएर भोज खाने र सम्मान व्यक्त गर्ने प्रचलन रहेपनि विस्तार हटेर गयो ।’

बदलिँदो परिवेशसँगै हरेक समुदायका पर्वहरू मनाउने चलनसमेत फेरिन थालेको उनको भनाइ छ । राना थारु समुदायमा अहिले लोकल कुखुराको ठाउँमा बोइलर कुखुरा पूजा गर्न थालिएको बलदेव रानाको भनाइ छ । ‘बढ्दो प्रविधिको प्रयोगले गर्दा चाडपर्वमासमेत अनेक कुराहरु भित्रिए ।’ उनले भने–’तर पनि समुदायले मौलिक रुपमा मनाउँदै आएको दिवारीको प्रचलन छोडेको छैन ।’ हरेक समुदायले आफ्ना मौलिक पर्वको सांस्कृतिक र मौलिक पक्षबारे नयाँ पुस्तालाई बुझाउन पनि जुरुरी रहेको वडा सदस्य रानाको भनाइ छ ।

‘दिवारीको कुखुराको बलि दिनेदेखि कूल पूजा गर्नुपर्नेमा युवा पुस्ता जानकार नै नभएको होइन ।’ उनले भने–’त्यो त्यति सहजै पुलेर चाडपर्व मनाउने भन्ने कुरो आउँदैन ।’