रवि लामिछानेको प्रश्न- टिकटक बन्द गर्ने निर्णय सरकारको हो की माओवादीको हो ?



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक सञ्जाललाई नियमन गर्नुपर्नेमा सरकारले बन्द गरेको बताएका छन् ।

टिकटकका सबै प्रयोगकर्ता खराब नभएको बताउदै लामिछानेले कन्टेन्ट समस्या भएकोमा प्लेटफर्म बन्द गर्न नहुने बताएका हुन् ।


उनले भनेका छन्- ‘ सामाजिक संजाललाई नियमन गर्ने हो, बन्द गर्ने होईन। समस्या कन्टेन्टको हो, प्लेटफर्मको होईन । अराजकता अभिव्यक्तिमा होला, माध्यमको के दोष ? टिकटकका कयौं युजर र कन्टेन्ट खराब छन् तर सबै युजर र कन्टेन्ट खराब छैनन्।प्राविधिक रुपमा खराब लाई कन्ट्रोल गर्न सकिन्छ ।’

साथै लामिछानेले टिकटक बन्द गर्ने निर्णय सरकारको होकी माओवादी केन्द्रको मात्र हो भन्दै प्रश्न समेत गरेका छन् ।

उनले सत्ताधारी दल कै जिम्मेवार पदाधिकारीहरुको बिरोधको अर्थ चाहिँ नबुझिएको बताउदै के यो निर्णय माओवादी केन्द्रको मात्रै हो ? भन्दै प्रश्न समेत गरेका छन् ।

सामाजिक संजाललाई नियमन गर्ने हो, बन्द गर्ने होईन। समस्या कन्टेन्टको हो, प्लेटत्फर्मको होईन। अराजकता अभिव्यक्तिमा होला, माध्यमको के दोष ? टिकटकका कयौं युजर र कन्टेन्ट खराब छन् तर सबै युजर र कन्टेन्ट खराब छैनन्।प्राविधिक रुपमा खराब लाई कन्ट्रोल गर्न सकिन्छ। टिकटकमा हालेको भिडियो रिलमा हाल्न मिल्छ, इन्स्टामा हाल्न मिल्छ, फेसबुकमा हाल्न मिल्छ। के सबै प्लेटफर्म बन्द गर्दै जाने हो त? यो निर्णय गर्ने सत्ता धारी दल कै कयौं नेताहरु भ्रष्ट होलान् । के अब पार्टी नै बन्द गरिदिने हो त? मुलधारले ढोका बन्द गरेका कयौं प्रतिभाहरु सामाजिक संजालबाट उदाए, मुलधारले लुकाएका कयौं समाचार सामाजिक संजालले उजागर गरे, सामाजिक संजालले फैलाएका कयौ अफवाहलाई मुलधारले फेक प्रमाणीकरण गरे। आजको युगमा सोसियल मिडियाको बिकल्प सुधारिएको (Better, Improved and Disciplined ) सोसियल मिडिया हो।

सत्ताधारी दल कै जिम्मेवार पदाधिकारीहरुको बिरोधको अर्थ चाहिँ बुझिएन। के यो निर्णय माओवादी केन्द्रको मात्रै हो?