रुकुम पूर्व । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादीहरुबीच विगतको जस्तो विभाजित भएर नभइ एकताका साथ अगाडि बढ्ने विषयमा छलफल भइरहेको बताएका छन् ।
माओवादीको विशेष रुपान्तरण अभियानअन्तर्गत आइतबार रुकुम पूर्वको पुथा उत्तरगङ्गामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पटकपटक पार्टी विभाजन हुँदा कार्यकर्ता र सहिद तथा घाइते परिवारमा निराश छाएको बताउँदै अब पूर्वमाओवादीहरुबीच एकताको पहल भइरहेको बताएका हुन् ।
माओवादी फुटेपछि जनयुद्धमार्फत प्राप्त भएको उपलब्धि हराएको भन्दै एकताको विकल्प नभएको उनले बताए ।
‘नेकपा महासचिव नेत्रविक्रम चन्दसँग आज बिहानमात्रै छलफल भएको थियो’ अध्यक्ष प्रचण्डले भने, ‘नेकपा अध्यक्ष डा. बाबुराम भट्ट्राईसँग पनि निरन्तर संवाद भइरहेको छ । उहाँहरुसँग एकता हुन्छ ।’
यस्तै, नेपाल र भारतबीचमा रहेको सीमा समस्या समाधान गर्न भारतका प्रधानमन्त्रीसँग कुराकानी भएको पनि उनले जानकारी दिए । चीनले हिमाली नाकासँग सम्बन्धी रहेर थुप्रै परियोजना सञ्चालनका लागि सहमति भएको भन्दै प्रधानमन्त्री प्रचण्डले सोही परियोजना अन्तर्गतको एउटा आयोजना रुकुम पूर्वमा समेत ल्याइने आश्वासन दिए ।