प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्रीले बुझाए गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र



काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग सातै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरूले गृह मन्त्रालयमा मंगलबार संयुक्त भेटघाट गरेका छन् ।

प्रदेशहरुको संस्थागत सुदृढीकरण र बलियो संघीयताका लागि प्रदेश प्रहरी समायोजन प्रक्रिया छिटो टुङ्ग्याउनुपर्ने बताउँदै गृहमन्त्री श्रेष्ठलाई उनीहरुले ध्यानाकर्षण पत्र समेत बुझाएका छन् ।


त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले सरकार संविधानतः प्रदेशहरुलाई अधिकार सम्पन्न र संघीयतालाई बलियो बनाउन आवश्यक ऐन निर्माण, संशोधन एवम् कार्यविधि तय गर्न लागिरहेको तथा प्रहरी समायोजन प्रक्रियालाई प्राथमिकतामा टुङ्ग्याइने बताए । सरकारको नीति कार्यक्रममा नै यो विषय उल्लेख भएकोले सन्दर्भमा सरकार संवेदनशील रहेको उनले बताए ।

भेटघाटमा आन्तरिक मामिला मन्त्रीका रूपमा वाग्मतीका गंगानारायण श्रेष्ठ, मधेसका मोहम्मद समिम, लुम्बिनीका सन्तोषकुमार पाण्डे, कर्णालीका कृष्णबहादुर जिसी तथा सुदूरपश्चिममा शिवराज भट्ट सहभागी थिए भने गण्डकीकी उर्जामन्त्री सरस्वती अर्याल तिवारी र कोशीका बिना विभागीय मन्त्री शमशेर राई प्रतिनिधिका रूपमा सहभागी थिए ।