काठमाडौं । सिल लगाएको पानीको बोतलभित्र किरा भेटिएपछि एक पानी प्रशोधन कम्पनीलाई काठमाण्डौ महानगरपालिकाले एक लाख रुपैयाँ जरिबाना तिराएको छ ।
गुणस्तरहीन पानी बेचेर उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलबाड गरेको भन्दै महानगरले ए एण्ड बी वेभरेज इन्डस्ट्रिज प्रालीलाई एक लाख रुपैयाँ जरिबाना तिराएको हो ।
आज सोमवार महानगरपालिकाको बजार अनुगमन समितिले ए एण्ड बी वेभरेज इन्डस्ट्रिज प्रालीबाट उत्पादित पानीको बोतलभित्र किरा भेटाएको थियो ।
काठमाडौंस्थित नेपाल प्रहरी वृत्त महाराजगञ्जको क्यान्टिनमा बिक्रीका लागि राखिएको मिनिरल वाटरको बोतलमा कीरा भेटिएको हो । क्यान्टिनमा बिक्रीका लागि राखिएको मिनिरल वाटरको बोतलमा कीरा भेटिएपछि प्रहरीले आइतबार सो कम्पनी विरूद्ध काठमाडौं महानगरमा उजुरी दिएको थियो ।
महानगरले कम्पनीलाई पानीको प्रशोधन र प्याकिङमा ध्यान दिन र बेला–बेला मेशिन पनि परीक्षण गराउन निर्देशन दिएको छ ।