पूर्वमन्त्री आलमविरूद्धको मुद्दामा बहस नोट पेस गर्न अदालतको आदेश



काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताब आलमको मुद्दामा १५ दिनभित्र बहस नोट पेस गर्न रौतहट जिल्ला अदालतले आदेश दिएको छ । बुधबार अन्तिम बहस सकिएपछि फैसलाअघि अदालतले आलमको मुद्दामा बहस नोट मागेको हो।

यसअघि नै सरकारी वकिल र आलमका कानुन व्यवसायीले बहस गरेका थिए। जिल्ला न्यायाधीश बाबुकाजी बानियाँको इजलासमा उनको मुद्दामा अन्तिम बहस सुरू भएको थियो।


इँटा भट्टामा जिउँदै मान्छे जलाएको आरोप पूर्वमन्त्री आलमलाई २०७६ असोजमा प्रहरीले पक्राउ गरेको थियो । २७ चैत २०६४ मा रौतहटको राजपुरमा भएको बम विस्फोटमा परेर घाइते भएका त्रिलोकप्रताप सिंह, ओसी अख्तरलगायतलाई जिउँदै जलाएको उनीमाथि आरोप रहेको छ । उनी अहिले पुर्पक्षका लागि थुनामा छन् ।