पीडितलाई न्याय दिएर शान्ति प्रक्रिया टुंग्याउनुपर्छ : अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाबारे नेताहरुबाटै आएको देश विभाजित हुने अभिव्यक्ति भनेर भनेको कुरा आफूले नसुकेको बताएका छन् ।

बुधबार दसैँ, तिहार, छठ तथा नेपाल संवत् लगायतका पर्वका अवसरमा एमालेले आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीले राखेका सवालमा अध्यक्ष ओलीले यस्तो जवाफ दिएका हुन् । अध्यक्ष ओलीले प्रति प्रश्न गर्दै भने, ‘प्रधानमन्त्रीले कहिले भनेको कुरा गर्नुभएको हो ? त्यो मैले सुनेको छैन ।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले प्रधानमन्त्रीसँग आफूले आज बिहान (बुधबार)मात्रै भेट भएको समेत बताए ।


उनले भने, ‘अघि प्रधानमन्त्रीज्यु र म यहाँसँगै थियौँ, तपाईँहरूले देखिहाल्नुभयो । हाम्रो चेहरा, हाउभाउ, हात मिलाएको, मुस्कुराएको, खुसी भएको देख्नुभयो ? । एउटै चाडमा खुसीयालीपूर्ण ढङ्गले समावेश भएको देख्नुभयो । राम्रै लक्षण छ नि हैन त ?

अध्यक्ष ओलीले आजका दिन राजनीतिक कुरा गर्न ठिक नहुने बताउँदै भने, ‘राजनीतिक कुरा आज गर्नु ठिक छैन । पत्रकारको जात कस्तो हुन्छ भने यति पायो भने उचालिहाल्छन् ।’ उनले शान्ति प्रक्रिया चाँडै सहमतिका साथ टुङ्ग्याउनुपर्ने बताए ।
‘भिक्टिमलाई सेन्टरमा राखेर टुङ्ग्याउनुपर्छ । सर्वोच्चको आदेश मानेर अन्तर्राष्ट्रिय समुदायका कुरालाई ध्यान दिनुपर्छ’ ओलीले भने, ‘खास गरी पीडितलाई न्याय दिएर टुङ्ग्याउनुपर्छ ।’