नेसपाले भूकम्पपीडितलाई १० लाख रुपैयाँ सहयोग गर्ने



काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)ले भूकम्पपीडितलाई सहयोग गर्न सरकारी कोषमा १० लाख रुपैयाँ दिने भएको छ । बाबुराम भट्टराई नेतृत्वको नेसपा केन्द्रीय कार्यकारिणी समिति बैठकले पार्टीको तर्फबाट भूकम्पपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ प्रदान गर्ने निर्णय भएको नेता विश्वदीप पाण्डेले जानकारी दिए ।

यस्तै उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन केन्द्रीय उपाध्यक्ष भक्तबहादुर शाहको संयोजकत्वमा आर्थिक विभाग प्रमुख हरि रिजाल र केन्द्रीय कार्यालय प्रमुख रोशन पोखरेलसहितको टिम गठन गर्ने निर्णय गरेको छ । आर्थिक विभाग प्रमुख रिजालको नेतृत्वमा आवश्यक सामग्रीसहित चिकित्सक टोली भूकम्प प्रभावित क्षेत्रमा परिचालन गरिएको पार्टीले जनाएको छ ।