काठमाडौं । आइसीसी टी–२० विश्वकपमा नेपाल समूहको उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको छ । समूह ए मा नेपालले आफ्नो अन्तिम खेलमा ओमानसँग ५ रनले पराजित हुँदै उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको हो ।
बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा ओमानले दिएको १४५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा १४० रन बनाउन सक्यो । नेपालले कुनै समयमा गुमाइसकेको खेललाई अन्तिम ओभरमा विवेक यादवले लगातार तीन छक्का प्रहार गर्दै नेपाललाई खेलमा फर्काएका थिए ।
अन्तिम बलमा पाँच रन आवश्यक रहेको अवस्थामा नेपालका करण केसीले छक्का प्रहार गर्ने प्रयासमा अन्तिम विकेट गुमाएका हुन् । नेपालका लागि विवेक यादवले सर्वाधिक ३९ रनको योगदान गरे । उनले २४ बलमा पाँच छक्का प्रहार गर्दै ३९ रनको योगदान गरे । त्यस्तै कुशल भुर्तेलले २६ र करण केसीले १५ रनको योगदान गरे ।
नेपालका तीन खेलाडीले १२–१२ रन जोडे । नेपालका कप्तान रोहित पौडेल, सन्दीप जोरा र सोमपाल कामीले १२–१२ रन जोडे । त्यस्तै कुशल मल्लले १० रनको योगदान गरे । गुल्शन झा ३, आशिफ शेख ५ र सन्दिप लामिछाने २ रनमा आउट भए ।
अभिनाश बोहरा एक रनमा अविजित रहे । यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रन बनाएको थियो । अब नेपालले सेमिफाइनल युएईसँग खेल्ने छ ।