नेपाली संस्कार, संस्कृति र पर्वहरू एकताका आधार हुन् : प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा परिवर्तित राजनीतिक व्यवस्थाको रक्षा एवं सुदृढीकरण गर्दै समाजवादको वैचारिक, राजनीतिक, आर्थिक एवं सांस्कृतिक आधार तयार पार्न तिहारलगायतका पर्वहरूको महत्वपूर्ण भूमिका रहने बताएका छन् ।

शुभ दीपावलीको अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा तिहारको शुभकामना व्यक्त गर्दै उनले दीपावलीले आपसी सद्भाव, सहिष्णुता र सुदृढ राष्ट्रिय एकताका लागि सबैलाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।


नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषता एवं अथाह प्राकृतिक सम्पदा र सभ्यताको संगमस्थलका रुपमा रहिआएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नेपाली संस्कार, संस्कृति र पर्वहरुले देश र जनतालाई सांस्कृतिक र भावनात्मक रूपले एकताको सूत्रमा बाँध्ने आधार भएको बताए ।

उनले तिहार लगायतका पर्वहरू विश्व समुदायमा नेपालको विशिष्ट पहिचान झल्काउने महत्वपूर्ण सन्दर्भसमेत रहेको सन्देशमा उल्लेख गरेका छन् ।

उनले नेपालका विविध जाति, जनजाति र समुदायले मनाउने राष्ट्रिय पर्वहरू प्राकृतिक सम्पदा र ऐतिहासिकतामा आधारित रहँदै आएको समेत जनाएका छन् ।