नेपालका भूकम्पपीडितलाई थप २८ करोड सहयोग गर्ने चीनको घोषणा



काठमाडौँ । छिमेकी देश चीनले नेपालका भूकम्पपीडितहरूलाई थप करिब २८ करोड रूपैयाँ राहत सहयोग घोषणा गरेको छ । नेपालस्थित चिनियाँ राजदूत छन सोङले आज (मंगलबार) सामाजिक सञ्जाल एक्समार्फत थप सहयोग रकमको घोषणा गरेका हुन् ।

चीनले यसअघि नै गत शुक्रबार आएको भूकम्पपछि ठूलो मानवीय र भौतिक क्षति भोगेका जाजरकोट र रूकुम पश्चिमका प्रभावितहरूका लागि १० करोड रुपैयाँको राहत सामग्री दिने घोषणा गरेको थियो । उक्त राहत सामग्रीको पहिलो खेप सोमबार केरुङ हुँदै नेपालको रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइसकेको छ ।


चीनले नेपालका लागि थप राहत कार्यक्रम घोषणा गरेको हो । राजदूत सोङका अनुसार नेपालका भूकम्पपीडितका लागि रेडक्रस सोसाइटी अफ चाइनले १३ मिलियन आरएमबी अर्थात् नेपाली एक करोड ३३ लाख १० हजार ६० रुपैयाँ सहयोग दिने भएको छ ।

चिनियाँ रेडक्रसले दिने यो नगद सहयोगलाई चीनले आपतकालीन नगद सहयोग भनेको छ । जसलाई नेपालका भूकम्पपीडितको राहतमा खर्च गरिने भएको छ । त्यसैगरी चीन सरकारको तर्फबाट थप १५ मिलिनय आरएमबी अर्थात् नेपाली २६ करोड रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय भएको राजदूत सोङले बताए ।

उनका अुनसार यो रकम नेपालका भूकम्पपीडितका लागि आपत्कालीन मावीय सहायताका रुपमा उपलब्ध गराउने निर्णय भएको हो । चिनियाँ रेडक्रस र त्यहाँको सरकारबाट नेपालका भूकम्पपीडितका लागि थप सहयोगका रुपमा २७ करोड ९३ लाख १० हजार रुपैयाँ उपलब्ध हुने भएको हो ।