काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले यतिखेर पार्टीले संगठन निर्माणलाई प्राथमिकतामा राखेर अगाडि बढेको बताएका छन् ।
रौतहटको विभिन्न कार्यक्रममा सहभागी हुन चन्द्रनिगाहपुर पुगेका अध्यक्ष लामिछानेले पत्रकार भेटघाट कार्यक्रममा संचारकर्मीले राखेका प्रश्नको जवाफ दिँदै मधेश प्रदेशमा संगठनको अवस्थालाई अझ मजबुद बनाउनकालागि ७ दिने अभियानमा मधेश निस्किएको बताए ।
मधेश प्रदेशमा पार्टीको समितिहरु निर्माणको क्रममा रहेको र अझ जनतासंगै पुगेर जनभावना बुझ्ने सहितको कामका लागि पनि संगठनले मधेशलाई प्राथमिकतामा राखेको बताए । यतिखेर पार्टी रणनीतिक रुपमा मधेश केन्द्रित भएको बताउदै अध्यक्ष लामिछानेले नेता खराब भएका कारण जनताले एकमुष्ट रुपमा व्यवस्था नै खराब भएको बुझेको बताए ।
आम जनताको बुझाईमा लघुवित्त, सहकारी, बैकले गरेको व्यवहारका कारण जनताले विकल्प खोज्न लागेको बताए ।