नुवाकोटको ‘लप्से झरना महोत्सव’ सम्पन्न



नुवाकोट । नुवाकोट, शिवपुरी गाउँपालिका वडा नं ४ र ६ स्थित लप्से मोहरथोक झरनालाई लक्ष्य गरी आयोजित महोत्सव आज सम्पन्न भएको छ ।  काठमाडौँ, गँगबुबाट २५ किमी उत्तरमा पर्ने सो झरना करिब एक सय ५० फिट लामो छ, जुन चैत वैशाखमा पनि अविरल बगिरहन्छ ।

महोत्सवमा राजनीतिकर्मी, नुवाकोट, काठमाडौँ, भक्तपुुरसमेतका आन्तरिक पर्यटक, राष्ट्रिय खेलाडी, चलचित्रकर्मी, पर्यटन व्यवसायी, विद्यार्थी आदि सहभागी भए ।


काठमाडौँ, टोखा हुँदै झरनास्थल पुग्न करिब एक घण्टा लाग्छ । करिब १५ मिनेट भने पैदल ओरालो हिँड्नुपर्ने हुन्छ । ‘आन्तरिक र बाह्य पर्यटनमा सहभागी बनौँ’ भन्ने नाराका साथ शिवपुरी वडा समितिको कार्यालय–६ को आयोजना र शिवपुरी समुन्द्रा युवा क्लबको व्यवस्थापन सहयोगमा ‘लप्से झरना महोत्सव’ सम्पन्न भएको हो । सो क्षेत्रमा आकर्षक लखिनेश्वरी, लौके, छोङछोङ गुर्जे, टुनीखोला झरना, चिलाउने छाँगा आदि पनि छन् ।

महोत्सवको उद्घाटन गर्दै शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले आफ्नो क्षेत्रलाई कृषि, स्वास्थ्य, शिक्षा र खेलकुदबाट चिनाउन प्रयास गरिने बताए । उनले जल, जडीबुटी, मठमन्दिर, झरना, निकुञ्जले हरियालीपूर्ण गाउँपालिकामा कृषि पर्यटनका माध्यमबाट नागरिकको जीवनस्तर उठाउन प्रयास गरिने जानकारी पनि दिए ।

महोत्सव आयोजक समितिका अध्यक्ष तथा वडा नं ६ का वडाध्यक्ष विष्णु श्रेष्ठले महोत्सव, पर्यटन प्रवर्द्धन आदि कार्यक्रम गरी गाउँवासीको आयआर्जनमा सघाउ पुर्याउने आफ्नो वडाको लक्ष्य भएको जानकारी दिए । “चैत–वैशाखको सुक्खा मौसममा पनि पानी बग्ने सो झरनाको विशेषता हो”, शिवपुरी–६ का वडाध्यक्ष श्रेष्ठले भने, “महोत्सवका लागि स्थानीय युवाहरूले बाटोसमेत निर्माण गरे । त्यहीँ नजिकको छोङछोङ गुर्जे झरनामा भने आगामी फागुन–चैतमा महोत्सव गर्ने छौँ ।”

उनका अनुसार विसं २०८१ मा चाहिँ टुनीखोला र चिलाउने छाँगासमेत समेटी चार झरना महोत्सव गरिने छ ।

सो अवसरमा गाउँपालिकाका उपाध्यक्ष वीरबहादुर तामाङ, वडा नं ४ का वडाध्यक्ष चन्द्र गुरुङ, कार्यपालिका सदस्य भगवती बुढाथोकी, तत्कालीन पञ्चकन्या गाविसका अध्यक्ष राम थापा, एमाले नेता श्याम लामा र जितेन्द्र विष्ट, नेकपा (माओवादी केन्द्र) का नेता मीनबहादुर तामाङ, शिवपुरी समुन्द्रा युवा क्लबका अध्यक्ष निर्मल तामाङ र सदस्य शरण तामाङ तथा समाजसेवी लक्ष्मण तामाङले आफ्ना सम्भावनाहरूको खोजी र पहिचान गरी रैथाने पर्यटन प्रवर्द्धनका माध्यमबाट आन्तरिक र बाह्य पर्यटकलाई आकर्षण गरे गाउँपालिकालाई नमूना गाउँपालिका बनाइने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा स्थानीय समुन्द्रा माविका विद्यार्थी र स्काउटले तिहार नृत्य तथा स्काउट प्रदर्शन गरे । गाउँवासीले प्रत्येक सहभागी अतिथिहरूलाई सयपत्रीको माला लगाई स्वागत गर्नाका साथै स्थानीय उत्पादन मकै, भटमास र गुन्द्रुकको खाजा ख्वाएका थिए । महोत्सवकै अवसरमा स्थानीय १०–१२ घरमा (घरबास) होमस्टेसमेतको व्यवस्था मिलाइएको थियो ।

सयपत्रीको फूलको व्यावसायिक उत्पादन भइरहेको सो क्षेत्रमा हलेदो, अदुवा, सुन्तला, इस्कुस, भोगटे आदि पनि उत्पादन हुन्छ । गाउँपालिकाले पर्यटन पूर्वाधारका काम अगाडि बढाउनाका साथै सो क्षेत्रमा शिव र बुद्धका मूर्ति स्थापना गरी धार्मिक सद्भावको भावना बढाइने जनाइएको छ ।