काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको अवस्था एयरपोर्टमा गएर हेर्नुपर्ने बताएका छन् । आज (बिहीबार) प्रतिनिधिसभामा सम्बोधन गर्दै एयरपोर्टमा विदेश जाने युवाको ताँतीले देशको अवस्था प्रस्ट पार्ने उनले बताए ।
जेवी टुहुरेको गीत ‘लाहुरे हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँछ’ बेलोको गीत सम्झँदै उनले भने, ‘ जब हामी एयरपोर्टमा जान्छे जानेहरूको ताँती देख्छौँ । ती जानेहरूको परिवारको हाल देख्दा हाम्रो मन रुन्छ । वास्तवमामा देशको अवस्थालाई हेर्नु छ भने एयरपोर्टमा गएर विदेश जाने युवाको ताती देख्यौँ भने थाहा हुन्छ । उनीहरूले ऋण काडेर विदेश जान गर्दछन् । र, विदेशमा उनीहरूले कसरी चलाइरहेको छन् भन्ने कुरालाई सम्झँदा पुग्छ ।’
अध्यक्ष नेपालले अहिले प्रत्येक क्षेत्रमा एक जना असल मान्छे चाहिएको पनि बताए । र, ती असल मान्छेको खोजी गर्नुपर्ने बताए ।
उनले भने, ‘देशको सञ्चालन गर्ने प्रधानमन्त्री, विभिन्न मन्त्रालय सञ्चालन गर्ने प्रत्येक मन्त्री, देश र जनताको पक्षमा काम गर्ने प्रत्येक सचिव, प्रत्येक विभागमा काम गर्ने व्यक्तित्व, प्रत्येक जिल्ला रहेको त्यहाँका प्रमुख, प्रत्येक तह र प्रत्येक पालिकामा रहने प्रमुख व्यक्तिहरू, जसले आफ्नो ठाउँको जिम्मेवारी लिउँन् । ती असल मान्छेको खोजी हामीले गर्नुपर्छ ।’
उनले नेपालले अहिले देशमा दुईवटा अतिवादी भाष्य निर्माण गरिएको भन्दै त्यस्ता भाष्यबाट मुक्त भएर समस्याको समाधान खोज्नुपर्ने पनि बताए ।
उनले भूपी शेरचनको ‘यो नेपाली शिर उचाली…’भन्ने कविता उदृत गर्दै भने अहिले निराश भइहाल्नुपर्ने अवस्था नरहेको बताए ।
उनले भने, ‘अहिले दुईवटा भाष्य नेपालमा प्रचलित छन् । एउटा भाष्य छ–सबै डुब्यो, सबै वर्वाद भयो, कुनै उपलब्धि भएका छैनन् । यो अत्यन्तै निराशावादी भाष्य हो । अर्को सवैथोक राम्रो गरियो, गजबै छ । चिन्ता गर्नुपर्ने छैन भन्ने भाष्य छ ।’ उनले यी दुवै भाष्य र अतिवादी सोचबाट मुक्त हुनुपर्ने बताए ।
अध्यक्ष नेपालले चुनौतीहरू र समस्याहरू रहेको भन्दै त्यसलाई महसुस गर्नुपर्ने बताए । ‘ती चुनौती र समस्याहरू हाम्रै नालायकीका कारणले आएका छन् अरूका कारणले होइन । अरूलाई दोष पन्छाएर पुग्दैन ।’,
नेपालले आफ्नै अयोग्यता र सिस्टम बसाल्न नसक्दा समस्या सिर्जना भएको बताए । उनले समस्या पहिचान गर्न सबै गम्भीर हुनुपर्ने बताए ।