काठमाडौं । काठमाडौंको बल्खुमा प्रहरी र मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षबीच झडप हुँदा २८ जना घाइते भएका छन् ।
बिहीबार दिउँसो बल्खुमा प्रदर्शनकारी कुलेश्वरतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो । जसक्रममा प्रदर्शनकारीले ढुंगामुढा गरेका थिए ।
झडपमा प्रहरीसहित २८ जना घाइते भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेशराज मैनालीले जानकारी दिए ।
प्रदर्शनकारीतर्फ २३ जना सामान्य घाइते भएकामा १७ जना उपचारपश्चात डिस्चार्ज भएका छन् । अन्य छ जनाको काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा उपचार भइरहेको छ ।
उनका अनुसार प्रहरीलाई लक्षित गरी ढुङ्गा प्रहार गर्दै बल्खुबाट कुलेश्वरतर्फ आउन लागेको भिडलाई माइकिङ गरी सम्झाउने क्रममा झन् उत्तेजित भई ढुङ्गा प्रहार गर्दा ५ जना प्रहरी कर्मचारी घाइते भएकाले नेपाल प्रहरी अस्पतालमा लगेर उपचार गराइएको छ ।
भिडलाई नियन्त्रणमा लिन प्रहरीले वाटर क्याननबाट पानीको फोहरा, अश्रुग्यास-१५७ सेल र रबरको गोली ५ राउण्ड प्रहार गरेको उनले बताए ।