दुर्गा प्रसाईंले राजा ल्याउँछु भन्दै नारा लगाउनु वाहियातः माधव नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिलाई दोष दिएर राजा ल्याउन खोज्ने चेष्टा नगर्न चेतावनी दिएका छन् ।

भूकम्प प्रभावित क्षेत्र रुकुमपश्चिम र जाजरकोट पुगेर काठमाडौं फर्कने क्रममा मंगलबार बिहान सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले गलत काम गरेको भए त्यसविरुद्ध उभिन तर राजतन्त्र ल्याउँछु भनेर वाहियात नारा नलगाउन चेतावनी दिएका हुन् ।


‘सरकारले गलत काम गरेको छ भने सरकारका विरुद्धमा उभिनु्स । तर व्यवस्थाको विरोध गर्दै राजसंस्था ल्याउँछु भन्ने नारा नलगाउनुस्’, उनले भने, ‘राजतन्त्र इतिहास भइसकेको । फेरि पनि राजा ल्याउँउछु भन्दै नारा लगाउनु वाहियात हो ।’

साथए उनले कसैले राजतन्त्र ल्याउँछु भन्नु कल्पना मात्रै भएको तर्क गर्दै भने, ‘गणतन्त्र जनताको व्यवस्था हो, यो कुनै परिवार र खानदानको व्यवस्था होइन । सरकार र मन्त्रीको विषयमा प्रश्न उठाउन सकिएला तर फेरि पनि राजतन्त्र ल्याउँछु भन्नु कल्पना मात्र हो ।’

मेडिकल व्यवसायी दुर्गा प्रसाईतिर इंगित गर्दै नेपालले राजावादीहरूले ठूलो हुङ्कार गरेर काठमाडौँमा आन्दोलन गरे पनि त्यो उपलब्धिविहीन भएको बताए । पछिल्लो समय देशको देखिएको आर्थिक संकट र संघीयताको विषयमा भएका गल्ती कमजोरी भने सच्चाउनुपर्ने उनको भनाई छ ।