ढोरपाटनका मेयर भन्छन् -आफ्नो नाममा रहेका १८ वटा घर बेचेर बचतकर्ताको रकम फिर्ता गर्छु



पोखरा । बचतकर्ताको डेढ अर्ब रकम हिनामिना गरेर फरार भएका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले व्यक्तिगत सम्पत्ति बिक्रीको लागि वातावरण मिलाइदिन आग्रह गरेका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत बचतकर्ताको रकम फिर्ताका लागि आफ्नो सम्पत्ति बिक्रीको वातावरण मिलाइदिन आग्रह गरेका हुन् । उनले आफू र परिवारमाथि आएको धम्कीको कारण त्यहाँ बस्न सक्ने अवस्था नरहेको बताएका छन् ।


उनले भने, ‘बचतकर्ताहरुलाई आफूले सहकारीमा समस्या देखिएपछि सेयर सदस्य र बचतकर्ताको विशेष भेला राखेर बचत फिर्ता समाधान गर्न ६ महिना समय राखिएको थियो ।’

तर, केही व्यक्ति घरमा हतियारसहित आई आफूसहित श्रीमती र सानो छोरीको ज्यान मार्ने धम्की दिने र ६ लाख बचत भएको व्यक्तिहरुले पाँच करोडको घरजग्गा आफ्नो नाममा पास गर्न दबाब दिएको कारण आफू केही समय घरबाहिर बस्न बाध्य भएको उनले प्रष्टीकरण दिएका छन् । नेपाली इमेज बचत तथा ऋण सहकारी संस्थाको संस्थापक अध्यक्ष समेत हुन् ।

तर, बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि उनी गत वैशाख पहिलो हप्तादेखि फरार छन् । नेपालीविरुद्ध प्रहरीमा समेत मुद्दा परेको छ । सरकारले पनि उनलाई गत जेठ ८ गते अध्यागमन विभागको निगरानी सूचीमा राखेको थियो । त्यसको तीन दिन अगाडिदेखि नै उनी सम्पर्कविहीन भएका थिए ।