जाजरकोट भूकम्प पिडितलाई राहत वितरण एकद्वार प्रणालीबाट



काठमाडौं । सरकारले जाजरकोट भूकम्पबाट प्रभावितहरुलाई एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने निर्णय गरेको छ । गएराति जाजरकोट केन्द्रविन्दु बनाएर शक्तिशाली भुकम्प गएपछि आज (शनिबार) गृह मन्त्रालयमा बसेको सरोकारवालाहरुको बैठकले राहत वितरणर्मा एकद्वार प्रणली लागु गर्ने निर्णय गरेको हो ।

बैठकले खोजी, उद्धार र राहत वितरणलाई प्राथमिकता दिने निर्णय गरेको उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए ।


गृहमन्त्री श्रेष्ठका अनुसार अहिलेसम्म भुकम्पमा परि १३६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १६१ जना घाइते भएका छन् । भुकम्पबाट विषेशगरी जाजरकोट र रुकुम पश्चिममा टुलो जन धनको क्षेती भएको गृहमन्त्री श्रेष्ठले बताए । त्यसका साथै दैलेख, जुम्ला र रोल्पामा पनि केही घरहरु भत्किएर ७ जना घाइते भएको जनाइएको छ ।

उनका अनुसार बैठकले सुर्खेतलाई मुख्य र नेपालगञ्जलाई सहायक बेस मानेर उद्दार कार्य गरिने छ । प्रभावित क्षेत्रमा चिकित्सिक, स्वास्थ्य सामग्री र औषधि पठाइएको छ भने थप आवश्यक परे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

गएराति १ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रविन्दु बनाएर ६.४ रेक्टरको शक्तिशाली भुकम्प गएको थियो । त्यस लगत्तै ४ वटा परकम्पन गएकाे राष्टिय भुकम्प मापन केन्द्रले जनाएकाे छ ।