गृह प्रशासन सुधारका लागि पूर्वमुख्यसचिव पौडेलको संयोजकत्वमा समिति गठन



काठमाडौं । गृह प्रशासन सुधारका लागि अध्ययन समिति गठन गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले पूर्वमुख्यसचिव लीलामणी पौडेलको संयोजकत्वमा १० सदस्यीय अध्ययन समिति गठन गरेको जानकारी दिए ।

उनका अनुसार अध्ययन समितिको सदस्यमा पूर्वसचिव शरदचन्द्र पौड्याल, शंकरप्रसाद कोइराला, लक्ष्मीप्रसाद ढकाल रहेका छन् । यसैगरी डा. खंग केसी, प्रकाश अर्याल, सिंहबहादुर श्रेष्ठ, डा. विन्दु पोखरेल, डा. विजय गौतम र सदस्यसचिवका रूपमा नीति योजना महाशाखाका सहसचिव रहने व्यवस्था गरिएको छ ।


गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले सुशासनका काम अगाडि बढाइरहेको दाबी गरे । गृह मन्त्रालय र अन्तर्गतका निकायहरूको कार्य सम्पादनमा प्रभावकारिता ल्याउन गर्नुपर्ने सुधारका क्षेत्र तथा उपायहरु र त्यसको कार्ययोजना समेत तयार गर्ने प्रयोजनका लागि समिति गठन गरिएको श्रेष्ठले बताए।