गाजा । गाजा क्षेत्रमा अस्थायी युद्धविराम सम्झौता कार्यान्वयनमा आएको छ । स्थानीय समयअनुसार शुक्रबार ७ बजेबाट युद्धविराम सम्झौता कार्यान्वयनमा आएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
सम्झौताअन्तर्गत प्यालेस्टाइनी लडाकु समूह हमासले प्रथम चरणमा १३ जना बन्धक रिहा गर्ने जनाएको छ । उनीहरुलाई स्थानीय समयअनुसार आजै ४ बजेभित्र रिहा गरिसक्ने तय भएको छ । त्यसैगरी, इजरायली जेलमा रहेका केही बन्दीहरुलाई पनि रिहा गरिने छ ।
आगामी ४ दिनसम्म हमासले ५० जना इजरायली बन्धक रिहा गर्नेछ । हमासले रिहा गर्ने बन्धकमा महिला र केटाकेटी रहेको जनाइएको छ ।
युद्धविराम सम्झौता कार्यान्वयनमा आएसँगै उत्तरी गाजामा इजरायली हवाई आक्रमण रोकिएको लेबनानी टेलिभिजन च्यानल अल मयादिन टेलिभिजनले जनाएको छ ।
यससँगै पछिल्लो ४८ दिनदेखि जारी युद्धबाट इजरायल र प्यालेस्टाइनी जनताले केही राहतको महसुस गरेका छन् ।