खुल्यो कोरला नाका, नेपाली सुरक्षाकर्मी र भन्सारका कर्मचारी चीनले दिएको कन्टेनरमा बस्ने



गण्डकी । कोरला नाका सोमबारदेखि व्यावसायिक रूपमा संचालनमा आएको छ । मुस्ताङको उपल्लो भेगमा अवस्थित नेपाल–चीन २४ नम्बरको सीमास्तम्भ रहेको फराकिलो पठार कोरला नाका सोमबारदेखि व्यावसायिक रूपमा खुला भएको हो ।

समुद्र सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरोला नाकाको चीनको सिगात्से प्रान्तको झोम्वा काउन्टीका मेजेस्ट्री नुर्वु छिरिङ र मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले उद्घाटन गरेका छन् ।


कोरोला नाका व्यावसायिक रूपमा खुल्ला भएसँगै तिब्बतको झोम्बा काउन्टीले उपल्लो मुस्ताङका सीमावर्ती लोमन्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाबासीलाई उपहारस्वरूप पठाएको तिब्बती नुन, चिया, घ्यू, कम्बल र सिरकसमेत समेतका सामान लिएर ३ वटा कन्टेनर नेपाल भित्रिएका छन् ।

नाका खुलेसँगै लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको असोज पहिलो साता भएको भ्रमणका क्रममा चीनले कोरलालगायत नेपालका १४ वटा व्यापारिक नाका सञ्चालनको तयारी गरेको जनाएको थियो ।

नाका संचालनका लागि मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित कोरला नाकाको नेपालतर्फ सुरक्षाकर्मीहरूको आश्रयका लागि अस्थायी संरचना तयार गरिएको छ । लोमान्थाङका जनप्रतिनिधि र सशस्त्र बोर्डर आउट पोष्ट (बिओपी)को रोहबरमा चीनले दशगजा क्षेत्रको नेपाली भूमिमा कन्टेनर सुविधाको पूर्वाधार संरचना तयार गरेको हो ।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वु गुरुङले २० फिट लम्बाइ र दश फिट चौडाइका झ्याल र ढोका भएका सिसाबाट बाहिर हेर्न सकिने पाँच प्रिफेव कन्टेनर जडान गरिएको जानकारी दिए । कोरला नाकाको चीनतर्फ स्थायी संरचना छन् । नेपालमा भने छैनन् । चार हजार मिटरभन्दा बढी उचाइको नाकामा नेपाली सुरक्षाकर्मी र भन्सारका कर्मचारीका लागि नेपालको अनुरोधमा चीनले प्रिफेव कन्टेनर उपलब्ध गराएर जडान गरिएको हो ।

चारवटा खाट राख्न सकिने कन्टेनरभित्र १० जनासम्म अटाउन सक्छन् । चीनले उपलब्ध गराएको कन्टेनरमा सुरक्षा निकायको टोली र कोरलानाका जाने पर्यटक प्रतिकूल मौसम हुँदा आश्रय लिन सक्नेछन् । कोरोना महामारी फैलिएपछि २०७६ देखि नाका पूर्णरूपमा बन्द भएको थियो ।