खसी भन्दै बाख्राको मासु बेचेपछि…



काठमाडौँ । खसीको मासु भन्दै उपभोक्तालाई झुक्याएर बाख्राको मासु बेच्ने एक व्यापारीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरस्थित साहिल फ्रेस हाउसका सञ्चालक गुल्जार महम्मद पक्राउ परेका हुन् । उनको पसलबाट खसीको २१ किलो र बाख्राको ८ किलो मासु समेत बरामद गरिएको छ ।


बाख्राको मासु बेचिरहेको गुनासोपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले उनको पसल अनुगमन गरेको थियो । सो क्रममा बाख्राको मासु भेटिएपछि प्रहरीले गुल्जारलाई पक्राउ गरी आवश्यक कारबाही अगाडी बढाएको छ ।

पसलको अगाडि खसीको मासुको सानो टुक्रासंगै छाला बिनाको बाख्रालाई खसीको अण्डकोष र पिसाब गर्ने लिंग जस्तो बनाई खसीको मासुसँगै बिक्री गर्नको लागि राखेको अवस्थामा मासु भेटिएको प्रहरीले जनाएको छ ।