विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकार बनाउनुपर्ने बताएका छन् ।
शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले कोशीमा स्थीरता कायम गर्न सर्वदलीय/सर्वपक्षीय सरकार बनाउनुपर्ने बताएका हुन् ।
अध्यक्ष नेपालले केन्द्रमा एक प्रकारको गठबन्धन भएपनि कोशी प्रदेशमा भने सांसद संख्याको कारणले अस्थीरता भएकाले सबै मिलेर स्थीर सरकार बनाउनुपर्ने उल्लेख गरे । उनले कुनै एक पक्षलाई निषेध गर्ने वातावरण कोशी प्रदेशमा नरहेको जिकिर गरे ।
कोशी प्रदेशको नामाकरणबारे उठेको विवाद आवश्यक नरहेको बताउदै उनले जनताको भावनालाई सम्मान गर्न कोशी प्रदेशसभा बैठकले नामाकरणको विषय टुङ्ग्याउनुपर्ने धारणा राखे ।
अध्यक्ष नेपालले आममाफी दिने विषयमा सर्वोच्च अदालतको परमादेश उपयुक्त भएको र विगतमा गरिएका गल्ती कमजोरीलाई सच्याएर अघि बढ्न सरकारलाई आग्रह समेत गरे ।