कोशीमा सत्ता गठबन्धनले टुंग्यायो भागबन्डा, कुन दलले कति मन्त्रालय पाउने ?



काठमाडौं । कोशी प्रदेशमा सत्ता गठबन्धन दलहरूले प्रदेश सरकारको मन्त्रालय भागबन्डा टुंग्याएका छन् ।

आज दिउँसो बसेको सत्ता गठबन्धन दलको बैठकमा मन्त्रालय भागबन्डाबारे सहमति जुटेको माओवादी केन्द्र कोशी संसदीय दलका नेता इन्द्र आङ्बोले जानकारी दिए ।


जसअनुसार कांग्रेसले मुख्यमन्त्रीसहित ४ मन्त्रालय, माओवादी केन्द्रले ३ मन्त्रालय तथा जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले १र१ मन्त्रालय पाउने नेता आङ्बोले जानकारी दिए ।

कोशीमा अहिले कांग्रेसबाट शम्शेर राई, माओवादीबाट गणेश उप्रेती र एकीकृत समाजवादीबाट कमल जवेगु सरकारमा छन् ।

सहमतिअनुसार अब कांग्रेसबाट थप दुई जना, माओवादीबाट २ जना र जसपाबाट एकजना मन्त्री बन्नेछन् ।

गठबन्धन सहमतिमा पुगेका कारण तिहार लगत्तै मन्त्रिपरिषद् विस्तार हुने नेता आङ्बोले बताए । कुन दलले कुन मन्त्रालय पाउने भन्नेबारे भने सहमति भइसकेको छैन ।

प्रदेशको संसदीय समितिको भागबन्डाबारे भने अन्य दलहरुसँगको छलफलपछि निर्णय हुने उनले बताए।

कांग्रेसबाट विद्रोह गरेर केदार कार्की कोशीको मुख्यमन्त्री बनेका थिए । उनलाई मुख्यमन्त्री बनाउन सघाउने एमाले भने कात्तिक १८ गते सरकारबाट बाहिरिएको थियो ।

मुख्यमन्त्री कार्कीले सहमतिविपरित माओवादी र एकीकृत समाजवादीलाई सरकारमा ल्याएको भन्दै एमाले सरकारबाट बाहिरिएको थियो ।