कोशीमा चाँडै सहमतिको सरकार विस्तार हुन्छ : मुख्यमन्त्री कार्की



काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले चाँडै कोशी प्रदेशमा सहमतिको सरकार विस्तार गर्ने हुने बताएका छन् । मुख्यमन्त्री कार्कीले आफुलाई सरकार बनाउन सहयोग गरेकाहरुको एजेण्डाअनुसार नै प्रदेश सरकार विस्तार गरिनेसमेत बताए ।

उनले आफु सहमतिको सरकार बनाउन लागिपरेका कारण प्रदेश सरकार विस्तारमा ढिलाई भइरहेको बताए । मुख्यमन्त्री कार्कीले आफुलाई मुख्यमन्त्री बनाउन जसले समर्थन गरेको हो, उसको गुण नविर्सिने जिकिर गरे । उनले पहिलेको सरकारले पटक–पटक सहमतिय सरकारको प्रयास गरेको र त्यसलाई आफुले सफल बनाउने धारणा राखे ।


यता, मुख्यमन्त्री कार्कीलाई समर्थन गरेर सरकारमा गएको एमालेले भने सरकार गठनमा मुख्यमन्त्रीले ढिलाई गरेको आरोप लगाएको छ । नेकपा एमालेका नेता एवं कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लव अधिकारीले एमालेलाई बाहिर राखेर निर्णय गर्ने कुरा मान्य नहुने बताए । समर्थन गरेको दलको सल्लाहअनुसार सरकार गठन गर्नुपर्ने उनको भनाइ छ ।

मुख्यमन्त्री केदार कार्की नेपाली कांग्रेसका ७ जना विद्रोही प्रदेश सांसद र नेकपा एमालेका ३९ जना सांसदहरुको र्समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार कोशी प्रदेशको मुख्यमन्त्री बनेका थिए । कार्की मुख्यमन्त्री भएको १९ दिनसम्म पनि मन्त्रीमण्डलले पुर्णता पाउन सकेको छैन ।