किसानले पाउने ऋण ठूलाबडा व्यापारीले लिए : शेखर कोइराला



विराटनगर । नेपाली कांग्रेसका नेता डा‍. शेखर कोइरालाले एकै व्यक्ति वा घराना बैंक सञ्चालक र उद्योगी व्यवसायी हुन नहुने बताएका छन् ।

नेपाली कांग्रेस मोरङको जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै उनले बैंक सञ्चालक र उद्योगी व्यवसायीलाई अलग गर्नुपर्ने बताएका हुन् ।


उद्योगी र बैंक सञ्चालकका न्यून ब्याजमा किसानले ऋण नपाउने र लिएको ऋणको ब्याज अत्याधिक भएको उनले बताए ।

उनले भने, ‘यहाँ धेरै किसान साथीहरु देखेको छु, तपाईहरु बैंकमा जानुहुन्छ, कृषकलाई ५ प्रतिशतमा ब्याजमा लोन दिने भनिरहेको छ सरकारले, तर मलाई लाग्दैन तपाईंहरुले पाँच प्रतिशत ब्याजदरमा ऋण पाउनुभएको छ, ‘कसले पाइरहेको छ भन्दा जो ठूला बडा ब्यापारी छन्, ब्यावसायी छन्, उनीहरुले मात्रै त्यसरी पाइरहेका छन् ।’

यो समस्या समाधानका लागि बैंक सञ्चालक र उद्योगी व्यावसायी एकै व्यक्ति हुन नहुने कोइरालाले बताए । ‘हामीले एउटा काम गर्नुपर्ने छ, म त सांसद हुँ, सांसदको हैसियतले पनि काम गर्नुपर्ने छ’, उनले भने, ‘बैंकर्स र व्यवसायीहरुलाई इन्ड्रष्ट्रियलिस्टहरुलाई अलग गर्न सकेनौं भने यो समस्याहरु आइरहन्छ ।’

बैंकले ठूलो ऋण तुरुन्तै दिने तर सानो आकारको ऋण नदिने उनको भनाइ छ । ऋण दिएपनि ब्याज अध्याधिक बढ्ने कोइरालाको गुनासो छ ।