काठमाडौं महानगरले माग्यो २७ डाक्टर र ५ खाद्य विज्ञ



काठमाडौं । काठमाडौं महानगरपालिकाले २७ जना मेडिकल अधिकृत र ५ जना खाद्यविज्ञका लागि आवेदन खुला गरेको छ ।

शनिबार महानगरपालिकाले एक सूचना जारी गर्दै आठौं तहको मेडिकल अधिकृतको लागि एमबीबीएस उतीर्ण गरेका जनशक्ति माग गरेको हो । महानगरका अनुसार शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रहरुका लागि करारमा डाक्टर माग गरिएको हो ।


यस्तै महानगरले सञ्चालन गर्न लागेको ल्याबको लागि खाद्य विज्ञ माग गरेको छ । महानगरपालिकाले सातौं तहको माइक्रोबाइलोजिस्ट २ जना, फुड टेक्नोलोजिस्ट ३ जना मागेको हो ।

महानगरका कृषि तथा पशुपन्छी विभागका प्रमुख डा. अवधेश झाका अनुसार खाद्य सम्बन्धी गुणस्तर मापन गर्न महानगरपालिकाले आफ्नै कर्मचारी राख्न लागेको हो ।

काठमाडौं महानगरको १२ भदौ २०७९ को कार्यपालिकाले खाद्य पदार्थको अनुगमन गर्न खाद्य निरीक्षक (फुड इन्सपेक्टर) राख्ने निर्णय गरेको थियो । बैठकमा मेयर बालेन शाहले फुड टेक्नोलोजीमा स्नातकोत्तर गरेका ५ जना फुड इन्सपेक्टर राख्ने प्रस्ताव गरेका थिए, जसलाई कार्यपालिका बैठकले अनुमोदन गरेको थियो । तर स्नातकोत्तर योग्यता राख्दा प्रतिस्पर्धा गर्ने जनशक्ति कम हुने देखिएपछि स्नातक योग्यता तोकेर सूचना निकालिएको झाले बताए ।

महानगरले खाद्य निरीक्षकहरु राखेपछि मासु र खाद्य पदार्थको पसल नियमित अनुगमन गर्ने भनिएको छ ।