काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले यही १४ मंसिरमा संकल्प यात्रा सुरु गर्ने भएको छ । मध्य पहाडी लोकमार्गमा एमालेको यो यात्रा हुनेछ । जसलाई संकल्प यात्रा नाम दिइएको छ । आज बसेको पार्टी केन्द्रीय कमिटी बैठकले संकल्प यात्राको कार्ययोजना पारित गरेको हो ।
आजको बैठकमा यात्राको तयारीबारे छलफल भएको थियो । यात्राको तयारीका लागि उपमहासचिवद्वय प्रदिप ज्ञवाली र विष्णु रिमालका दुई अलग अलग टिमले पूर्वको पाँचथरदेखि बैतडीसम्म अवलोकन गरेका थिए । आजको बैठकका उनीहरूले तयारीबारे भएका प्रगतिको जानकारी दिए ।
१४ मंसिरमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा यात्राको उद्घाटन गर्ने तय भएको छ । यात्रा अवधिभर स्थानीयसँग अन्तरक्रिया, बहस तथा छलफल चलाइने एमालेले जनाएको छ । यात्रा पाँचथरको चिवाभञ्ज्याङ पुगेर टुंगिनेछ ।
मध्यपहाडी लोकमार्ग पाँचथरको चिवाभञ्ज्याङबाट सुरु भएर बैतडीको झुलाघाटसम्म पुग्छ । यो लोकमार्गले मध्य नेपाललाई पूर्वदेखि पश्चिमसम्म जोड्छ । यसै लोकमार्गले छोएका जिल्लाहरूमा एमालेको यात्रा हुने भएको हाे ।