काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारण सभा आज हुँदैछ । मकवानपुरको हेटौँडास्थित रोयल पार्टी प्यालेसमा हुने साधारण सभामा अध्यक्ष पंकज बिक्रम नेम्वाङमाथि लागेको अविश्वास प्रस्तावको छिनोफानो हुनेछ ।
आजको साधारण सभामा अध्यक्ष नेम्वाङमाथिको अविश्वास प्रस्तावमाथि मतदान हुने बताइएको छ । मतदानमा एन्फाका १०५ मध्ये ८७ सदस्यले मतदान गर्ने छन् ।
एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्तगीको मागसहित अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
एन्फा विधान अनुसार अध्यक्षसहित पदाधिकारी बर्खास्तगीका लागि दुई तिहाई मत आवश्यक पर्छ । एन्फाको मतभार अनुसार नेम्वाङलाई हटाउन ५८ सदस्यको मत आवश्यक पर्दछ ।
अध्यक्षविरुद्ध दुई तिहाइ पुर्याउन संस्थापन इतरलाई अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सदस्यसहित थप ९ मत आवश्यक छ ।
असोज १७ गते बसेको एन्फाको आपतकालीन बैठकले बर्खास्तगीको प्रस्ताव फेस गर्न मकवानपुरको साधारणसभा बोलाएको थियो ।