काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको मर्मलाई कसैले दबाउन नसक्ने बताएका छन्।
बिहीबार काठमाडौंमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको पुस्तक ‘यात्रा जिन्दगी’को लोकार्पण गर्दै प्रधानमन्त्री दाहालले मुलुकको आमूल परिवर्तनमा जनयुद्धको भूमिका अद्वतीय रहेको भन्दै जनयुद्धको मर्मलाई कसैले दबाउन नसक्ने बताएका हुन् ।
पृथ्वीनारायण शाहको एकीकरण अभियानपछि नेपालमा जनस्तरबाट गरिएको सबैभन्दा ठूलो त्याग र विद्रोह जनयुद्ध नै भएको उनले बताए ।
प्रधानमन्त्री दाहालले आधुनिक नेपाल निर्माणको प्रक्रिया नेपाली इतिहासको ऐतिहासिक परिघटना भएकाले पृथ्वी जयन्तीलाई बिदा दिने निर्णय गराएको स्पष्ट पारे।
प्रचण्डले तत्कालीन अवस्थामा संयुक्त राष्ट्रसंघको बैठकमा नेपालको राजनीतिक अवस्थामा बारेमा भ्रमण छर्ने राजा-महाराजाको सपनालाई आफूले एकलौटी तीन महिने युद्ध विराम घोषणा गरेर रोकेको जिकिर गरे। त्यही युद्धविरामभित्र सात राजनीतिक दलहरुसँग वार्ता भएर १२ बुँदे सहमति भएको उनले बताए।
दाहालले पूर्वउपराष्ट्रपति पुनले लेखेको पुस्तक ‘यात्रा जिन्दगी’ सरलता र इमानदारिताको प्रतीक भएको बताए। आफ्नो जिम्मेवारीप्रति कहिल्यै लापरवाही नगर्ने र जनयुद्धकाल र शान्ति प्रक्रियामा पनि आफ्नो आदेशलाई जस्ताको तस्तै लागू गर्ने एक जना नेता पुन भएको उनले स्मरण गरे ।